फुलिकाको मर्थी खोलामा पक्की पुल बन्ने भएपछि स्थानीय मख्ख !


सुरेश कुमार पाण्डेय, पकडी ।

कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ३ फुलिका गाउँको मर्थी खोलामा पक्की पुल बन्ने भएको छ । प्रदेश सरकारको लगानीमा फुलिकाको मर्थी खोलामा पक्की पुल निर्माण गर्ने प्रकृया अघि बढेको हो । दशकौं देखि काठे पुलको भरमा जोखिम मोलेर आवातजावत गरेका नागरिक पुल बन्ने भएपछि खुशी भएका छन् ।

प्रदेश नम्बर ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयको लगानीमा फुलिकाको पूर्व तर्फ रहेको खोलामा पक्की पुलको टेण्डर आवहान भएको प्रदेश सांसद विष्णु पन्थीले जानकारी दिनुभयो ।

उहाँले आफ्नो निर्वाचन क्षेत्रमा समस्याको रुपमा पहिलो नोटिसमा परेको काठे पुलको विकल्पमा पक्की पुल निर्माणको लागि मन्त्रालयमा बजेट विनियोजनमा आफु शुरु देखि लागेको बताउनुभयो । उहाँले विभागीय मन्त्रीलाई समेत पटक पटक उक्त क्षेत्रको अवलोकन गराई पुल निर्माणको योजना प्राथमिकतामा राख्न जोड दिनुभएको थियो ।

४ करोडको लागतमा निर्माण हुने पक्की पुलमा दुइतर्फी सवारी साधन आवत जावत हुनेछ । सो पुल निर्माणमा वडा नं. ३ का वडा अध्यक्ष सुकदेव प्रसाद तिवारीले प्रदेश सांसद पन्थीलाई समस्या राख्दै आउनु भएको थियो ।

उक्त खोलामा पक्की पुलको निर्माण सम्पन्नपछि वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिका जोड्न सहज हुनेछ भने सोहीबाटो भएर साथै वाणगंगा, मायादेवी, शुद्धोधन र कपिलवस्तु नगरपालिका र सदरमुकाम तौलिहवा आवात जावतमा समेत सहजता आउने वडाअध्यक्ष तिवारीको भनाइ छ । काठे पुलका कारण छिमेकी रुपन्देही जिल्ला जोड्ने निकटता समेत हुनेछ । पुल बन्ने भएपछि स्थानीय पनि मख्ख भएका छन् ।

मर्थी खोला पूर्वतर्फ जनता आधारभूत विद्यालय फुलिका, नजिकैको पुर्ण केशर मा.वि, फुलिकाकै स्वास्थ्य चौकीमा आवात जावतमा समेत कठिनाइ भएको थियो भने पश्चिम तर्फ फुलिका चोक, पकडी, तौलिहवा पुग्न सास्ती व्यहोर्नुपरेको थियो । अव उक्त खोलामा पक्की पुल निर्माण भएपछि सडक संजालबाट ५ पालिका सहजै जोडिनेछ ।

काठेपुलबाट विद्यार्थीहरु विद्यालय पुग्न जोखिम मोलेर जानुपर्ने वाध्यता थियो । सोही काठे पुलबाट गतवर्ष एकजना बालकको खोलामा डुबेर मृत्यु भएको थियो ।

विकासको बाधकको रुपमा रहेको काठे पुल हटेपछि फुलिकाको समग्र विकासमा ठुलो योगदान पुग्ने वडा अध्यक्ष सुकदेव तिवारीको भनाइ छ ।

अध्यक्ष तिवारीले फुलिकाको मर्थी खोलामा पुल बन्ने मुख्य देन प्रदेश साँसद पन्थीको भएको भन्दै लिखित धन्यवाद समेत व्यक्त गर्नुभएको छ । साथै उक्त योजना सम्पन्न पछि पुरानो खैराटीको काठेपुलमा पक्की पुलको योजना प्राथमिकतामा राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस