कपिलवस्तुमा कोरोनाबाट एकैदिन २ जनाको मृत्यु, मृतकको संख्या पुग्यो ९


बुटवल ।
कोरोना भाइरसको संक्रमणको कारण कपिलवस्तुका २ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा उपचार गराइरहेका शिवराज नगरपालिका ५ का २ जनाको मृत्यु भएको हो।

भीम अस्पतालमा उपचाररत व्यक्ति ५८ वर्षीय पुरुष हुन् भने बुटवलमा उपचार गराइरहेकी महिला शिवराज ५ कै ४७ वर्षीया महिला हुन्।

भीम अस्पतालमा उपचार गराइरहेका पुरुषमा दमको समस्या थियो । उनको राती १०ः२६ बजे मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा नारायण पोख्रेलले जानकारी दिनुभयो ।

यस्तै शिवराजकै ४७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोरोना श्रोत व्यक्ति डा सुदर्शन थापाले जानकारी दिए।

मृतक महिला मृगौलाको डायालाइसिस् गराउँदै आएकी थिइन्। उनको आइसीयूमा उपचार जारी रहेकोमा रातीदेखि अवस्था गम्भीर भएको र बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना विशेष अस्पतालमा सोमबारसम्म १७ जना आइसीयूमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। यससंगै कपिलवस्तुमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस