दुवै मृगौला पीडित हरि भन्छन्ः ‘प्लिज पिसाब १ मिनेट पनि नरोक्नुहोस्’


मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ झुँगाका मृगौला पीडित हरि न्यौपानेले पिसाब १ मिनेट पनि रोक्न नहुने बताउनु भएको छ । दुवै मृगौला फेल भएर बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा मृगौलाको डायलाइसिस गरिरहनु भएका उहाँले मृगौला खराब हुनुको मुख्य कारण पिसाब च्यापेर राख्नु रहेको अनुभव मायादेवी अनलाइनसंग सुनाउँदै यस रोगबाट बच्न पिसाबलाई रोक्नै नहुने बताउनु भएको हो ।

पिसाब लागेकै बेला नगरी च्याप्दै जाने जुनसुकै उमेर समुहका मानिसलाई यो प्राणघातक रोग लाग्ने कुरा आफ्नो उपचारमा संलग्न चिकित्सले आफूलाई भनेको उहाँले सुनाउनु भयो । उहाँले भन्नुभयो–‘पिसाब जहाँ जति बेला लाग्छ, तुरुन्त गरिहाल्नुस् । मान्छे छन्, खुला स्थान छ भनेर लाज मानि च्याप्दै जानु भयो भने तपाईका पनि मृगौला खराब हुँदै जाने छन् र पछि समस्यामा पर्नु हुने छ ।’

मृगौला रोगको उपचार सामान्य आर्थिक अवस्था भएका मानिसको पहुँचबाट टाढा रहेकाले यो रोग लाग्नै दिन नहुने उहाँको अनुभव छ । ‘तपाईलाई पिसाब लाग्छ, एकै छिन् त हो नि, ब्यस्त छु, पिसाब गर्नै उपयुक्त ठाउँ पनि छैन । जतासुकै मान्छे छन् भनेर पिसाबलाई च्याप्दै नच्याँप्नू । म त भन्छु १ मिनेट त के एक एक सेकेण्ड पनि पिसाब रोकेर नबस्न सबैलाई अनुरोध गर्दछु’ उहाँले थप्नु भयो ।
‘पिसाब शरीरको विकार भएकाले यसलाई धेरैबेर रोकेर राख्दा त्यो मुत्र थैलीमा जम्मा भई बस्ने र त्यो खराब तरल पदार्थले सोझै मृगौलाको कामलाई असर पार्ने रहेछ । मृगौला रोगको मुख्य कारण नै यही हो, चिकित्सकले मलाई भनेका छन् कि हरिले भन्नुभयो ‘पानी कम खानु, मर मसला भएका खानेकुरा, खानु मदिार सेवन आदि सहायक कारण रहेछन् ।’ सहायक करण भए पनि यी चीजहरुको सेवन निकै कम गर्नुपर्ने उहाँको सुझाव छ ।

न्यौपानेले चिल्लो पिरो, मरमसला, खसी बोकाको रातो मासु, पोलेको मासु नखाए पनि पिसाबलाई लागेको बेला नगरी रोकेर राख्ने मानिसलाई मृगौला रोगको उच्च जोखिम हुने सुनाउनु भयो । २७ बर्षकै उमेरमा आफू मृगौला पीडित हुनुपर्दा सारा सपना टुटेको दुखेसो गर्दै अरुलाई फेरि यस्तो नहोओस् भन्दै यो अनुभव बाँडेको न्यौपाने बताउनु हुन्छ ।

पिसाब फेर्दा पोल्ने, पिसाबमा फिँज देखिने वित्तिकै जाँच गर्न सल्लाह दिँदै १ बर्षमा २ पटक मृगौल, मुटु आदिको जाँच गरेर बस्दा धेरै राम्रो हुने हरिको भनाई छ ।

न्यौपानेले मृगौला रोगलाई ‘हिडन किलर’को संज्ञा दिनु भयो । आफू पनि पहिले हट्टाकट्टा भएको बताउँदै कतिखेर, के कारणले यो रोग लाग्यो आफैलाई थाहा नभएको भन्दै एक्कासी मृगौला रोग लागेर अहिले जीवन मरणसंग संघर्ष गर्न परेकोमा भावुक बन्नुभयो ।

हरिले परिवारको आर्थिक अवस्था कमजोर भए पनि उपचारमा सघाउन गर्ने मिडिया, इष्टमित्र, देशविदेशमा रहनुभएका साथी संगी, संघसंस्था सबैले अहिलेसम्म बचाएको भन्दै विशेष धन्यबाद दिनुभयो ।

न्यौपानेकी श्रीमती सिमा न्यौपान, आमा मन कला न्यौपाने, बहिनी कमला न्यौपानले सहयोगी मनहरुकै कारण हरिको उपचार गर्न अहिले सहज भएको भन्दै छिटै मृगौल प्रत्यारोपण हुने बताउनु भयो ।

प्रतयारोपण गर्ने समय भए पनि कोरोनाका कारण ढिला भएको उहाँहरुके भनाई छ । उहाँहरुले आफ्नो आर्थिक अवस्था नाजुक भएका कारण अझै पनि सहयोग जरुरी रहेको मायादेवीसंग सुनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस