जब ४ बज्छ, तब प्रहरीले सिठ्ठि फुक्छ ! सर्वसाधारणले सिडिओलाई नटेरेकै हुन् त ?


दिपक अनुरागी, चारनम्बर ।
जब कोरोनाको विश्व महामारी थियो तब कपिलवस्तुमा पनि यसको त्रास विस्तारै छाउँदै थियो । कोरोना भाइरस (कोभिड १९) बारे सचेतना जगाउँने अभियानमा जिल्लाका स्थानीय तह र संघसंस्था कम्मर कसेर लागेका थिए । यो बीचमा सरकारले नै कोरोना महामारीको संक्रमण रोक्न भन्दै चैत्र ११ गते पहिलो चरणको एक साते लकडाउन घोषणा ग¥यो । कपिलवस्तुमा पनि त्यसको प्रभाव स्वरुप सबै स्थान सुनसान बने ।

कोरोना महामारी विस्तारै बढ्दै गयो । सरकारको एक हप्ते लकडाउन पनि एक/एक हप्ता गर्दै बढ्दै गयो । बैशाख अन्तिम सातासम्म कपिलवस्तुबासीले कोरोनाबाट पूर्ण सुरक्षित महशुस गरेका थिए । त्यो महशुस बैशाख २५ गते मायादेवी गाउँपालिकाबाट भताभुङ्ग भयो । जिल्लामा पहिलो पटक मायादेवीमा कोरोना पोजेटिभको ‘केस’ देखियो ।

त्यस पछि जिल्लामा लगातार भारतबाट नेपाल आउँनेहरु बढ्दै गए । पीसिआर जाँचको दायरा पनि बढ्दै गयो । कोरोना संक्रमित पनि धमाधम भेटिन थाले । लकडाउनको पूर्ण पालना हुँदै गयो । लामो समयको लकडाउनले जनजीवन कष्टकर हुँदै गयो तर, सर्वसाधारण कोरोनाको त्रासले लकडाउनको पालना गर्दै गए । यो क्रम जेष्ठ अन्तिम हप्तासम्म लगभग कायम रह्यो ।

लामो समयको लकडाउनले जनजीवन ‘उकुसमुकुस’ भैरहेको बेला कोरोना संक्रमित भारतबाट आउँनेलाई मात्र देखिन थालेपछि सर्वसाधारणले लकडाउनको विस्तारै उल्लङ्घन गर्न थाले । जो भारतबाट जिल्ला छिर्छ, ती तत्काल नजिकैको क्वारेनटाइनमा आफै जान्थे । त्यो नै कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका देखिन्थ्यो । यद्यपि नेपाल सरकारले भने लकडाउन कायमै राखेको थियो ।

आव ०७६/०७७ आर्थिक मसान्त नजिकै आउनु, किसानको बर्खे धान रोप्ने समय हनुले लकडाउनको विस्तारै उल्लङ्घन हुँदै आएको देखिन्छ । यो बीचमा कोरोना संक्रमितको संख्या एका÷एक घटेको थियो भने क्वारेनटाइन रित्ता जस्तै थिए । कोरोना जसजसलाई लागेको थियो लगभग सबैजसो संक्रमित स्वस्थ थिए । यो सन्देशले पनि कोरोनाको त्रास जिल्लामा कम हुँदै गएको थियो ।

यद्यपि जब साउन महिनाको तेस्रो हप्ता लाग्यो, जिल्लामा पुनः कोरोनाको त्रास बढ्न थाल्यो । शिवराज नगरपालिकाका १३ जना समुदायका व्यक्तिमा जब एकै पटक कोरोना देखियो यसले त्रास झनै बढायो । त्रासै त्रासका बीचमा साउन २७ गते देखि जिल्लामा दोस्रो चरणको लकडाउन घोषणा भयो ।

सुरुमा एक हप्ताका लागि गरिएको लकडाउन पटक पटक गरी भदौ मसान्तसम्म कायम राखिएको छ । यद्यपि पछिल्लो समयको लकडाउनले जीवनयापनलाई केही खुकुलो बनाउने मद्धत पक्कै गरेको छ ।

पछिल्लो चरणको लकडाउनका तीन हप्तासम्म सर्वसाधारणले लकडाउनका नीति, नियम पालना गरेको देखिन्छ । यो तीन हप्ता जिल्लामा संक्रमितको संख्या पनि एकाएक बढेको थियो भने मृतकको संख्या पनि सुनिन थालेको थियो । समुदायमा कोरोना देखिनु र मृतकको संख्या सुनिनुले सर्वसाधारणबाट लकडाउनको पालना भएको पाइन्छ । तर, लामो समयको लकडाउनसंगै सर्वसाधारणको आर्थिक स्थितिमा पनि गम्भीर असर पर्न थालेपछि जिल्लामा पछिल्लो समय जारी लकडाउन उल्लङ्घनका घटना बढ्न थालेका छन् ।

कपिलवस्तु प्रहरी मातहतका विभिन्न प्रहरी ईकाइहरुका जवानहरु आजभोलि सिठ्ठि फुक्ने अभियानमा जुटेका छन् । जिल्ला प्रशासन कार्यालय तौलिहवाका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा भाद्र ३१ गते रातिसम्म जिल्लाभित्र लकडाउन जारी रहेको उल्लेख छ । तर, विगतको भन्दा लकडाउन केही खुकुलो भने छ । अहिले विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म बजारका पसलहरु खुल्ला गर्न दिइएको छ । दिउँसो १ बजेपछि भने पसल सञ्चालकले पसल व्यवसाय बन्द गर्नुपर्ने हुन्छ । तर, प्रहरीले उल्लङ्घनका घटना बढेपछि चेतावनी स्वरुप सिठ्ठि फुक्दै व्यवसाय बन्द गर्ने अभियान चलाएको छ । जिल्लाको सदरमुकाम तौलिहवा, चारनम्बर, गोरुसिंगे, चन्द्रौटा, कृष्णनगर, महाराजगञ्ज, बहादुरगञ्ज लगायतमा रहेका पसल दिउँसो १ बजेपछि बन्द नभए पछि प्रहरीले चेतावनी स्वरुप पसल बन्द गर्न भन्दै सिठिठ् फुक्ने अभियान चलाएको हो ।

प्रहरीले १ बज्दा वित्तिकै भने सिठ्ठि फुक्ने गरेको छैन् । जब ४ बज्न सुरु गर्छ, तबमात्र सिठ्ठि फुक्ने गरेको छ । कपिलवस्तुका प्रहरी नायव उपरिक्षक तथा प्रहरी प्रवक्ता धर्मराज भण्डारीले भने प्रशासनले जे निर्णय गरेको छ त्यो निर्णयको पालना प्रहरीबाट हुने स्पष्ट पार्नुभएको छ । सोमबार मात्र इटहरीबाट सरुवा भई कपिलवस्तुमा आउनुभएका प्रहरी नायव उपरिक्षक भण्डारीले कुन/कुन ठाउँका प्रहरीले के के गरेका छन् आफुले बुज्ने बताउनुभयो ।

यता कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले लामो समयको लकडाउनले उद्योगी, व्यापारी मारमा परेपनि प्रशासनको निर्णयलाई अटेरी गरेर उल्लङ्घन नगरेको बताउनुहुन्छ । बुटवलका पसल साँझसम्म सञ्चालन हुने गरेको बताउँदै यसकै प्रभाव पनि जिल्लामा परेको हुन सक्ने उहाँले बताउनुभयो । यद्यपि पसलहरु भने १ बजेदेखिनै बन्द हुने गरेका उहाँको दाबी छ ।

प्रतिक्रिया दिनुहोस