झुँगामा दुर्गा मन्दिरको शिलान्यास, युवाको संस्कृति प्रेम अनुपमः उपमेयर अर्याल


मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ झुँगामा ‘दुर्गा भवानी मन्दिर’ को शिलान्यास भएको छ । चौपारीमा रहेको जग्गामा स्थानीय मुहान युवा क्लवको सक्रियतामा निर्माण हुन लागेको मन्दिरको प्रमुख अतिथि स्थानीय सरकारका उपप्रमुख चक्र अर्यालले बुधबार विहान शिल्यान्यास गर्नु भएको हो ।

मन्दिरको शिलान्यास गर्दै अर्यालले युवाहरु खेलकुद लगायतमा बढी सक्रिय हुने गरेको भए पनि मुहान क्लवका युवाको काम संस्कृति संरक्षणमा उन्मुख भएको देख्दा खुसी ब्यक्त गर्नु भयो ।
उहाँले भन्नुभयो, ‘युवाहरुबाट नै समाज बदल्नु पर्दछ । समाजमा रहेका हरेक गतिविधिमा युवा सहभागिता चाहिन्छ । त्यस अन्तर्गत संस्कृति संरक्षण पनि एक हो । त्यस हिसाबले क्लवले गर्न खोजेको काम उदाहरणीय छ । अझै सिर्जनशिल र रचनात्मक हुन आग्रह गर्दछु । ’

उहाँले मन्दिर निर्माण गर्नु ठुलो कुरा नभई यसको प्रयोजन महत्वपूर्ण हुने बताउनु भयो । मन्दिरलाई पुजाआजासंगै आयआर्जनको श्रोतको रुपमा पनि विकास गर्ने हो भने यसले गाउँ विकासमा थप टेवा दिने बताउनु भयो । मन्दिर निर्माण सम्पन्न गर्न आफूले सक्दो सहयोग गर्ने उहाँको प्रतिवद्धता छ ।

विशिष्ट अतिथि सोही वडाका वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले मन्दिर बनाएपछि यसको सही ढंगबाट संरक्षण हुनु पर्ने बताउनु भयो । युवाहरुको सक्रियतामा काम भएको हुनाले समयमै निर्माण सम्पन्न हुनेमा आशा राख्दै यसको लागि वडाबाट करिब २ लाख बजेट विनियोजन भइसकेको जानकारी दिनुभयो । पैसा अभावमा निर्माण नरोक्न आग्रह गर्दै आफूले सहयोग गर्ने र नगरपालिकालाई पनि सहयोग गर्न थप पहल गर्ने उहाँले वचन दिनु भएको छ ।

स्थानीय समाजसेवी चन्द्रकान्त भट्टराईले मन्दिर गाउँको छुट्टै सांस्कृतिक सम्पदा रहेको हुँदा नगरले विशेष सहयोग गर्नु पर्ने बताउनु भयो । गाउँमा मन्दिरको अभाव हुँदा दशैँजस्ता चाडपर्वमा स्थानीयले लामो समयदेखि दुख पाइरहेकोले अब आउने दर्शैभित्र निर्माण सक्ने गरी काम गर्न निर्माण समितिलाई आग्रह गर्नुभयो ।

मायादेवी रेडियोका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेले गाउँको विकासमा राजनीति गर्न नहुने बताउनु भयो । मन्दिर सामुहिक प्रयोजनको सांस्कृतिक सम्पदा भएको हुँदा सबै एकजुट भएर लाग्दै गाउँलाई विकासमा अगाडी बढाउन सबैले प्रतिस्पर्धा गर्नु पर्नेमा जोड दिनुभयो ।

१० देखि १२ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको मन्दिरको लागि टोल विकास समिति, आमा समुह, स्थानीय समाजसेवी र गाउँबासीको पनि सहयोग छ । यही दशैँ भित्र निर्माण सक्ने गरी काम हुने मन्दिर संरक्षण समितिका अध्यक्ष अर्बिन मल्ल ठकुरीले जानकारी दिनुभयो ।

क्लवका अध्यक्ष रविन्द्र प्रताप सेनको अध्यक्षता, सचिव कृष्ण पौडेलको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा वडा सदस्य इन्दिरा पन्थ, टोल विकास समितिका अध्यक्ष हर्क बहादुर हमाल, समाजसेवी राजु सेन, पूर्व अध्यक्ष राजन सेन लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस