१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

आज विज्ञान दिवसः ‘औचित्य र प्रविधिको नवप्रर्वतन’



मायादेवी अनलाइन, चार नम्बर ।

रसायनशास्त्रमा विद्यावारिधि गरिसक्नु भएका प्राध्यापक डाक्टर मोतिलाल शर्मा भुसाल लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । रसायनशास्त्र सँग सम्बन्धित विभिन्न तहका कैयौं पाठ्यपुस्तकहरू यहाँको सह लेखनमा लेखिएका छन् र उच्च माध्यमिक तथा त्रिभुवन विश्वविद्यालयका पाठ्यक्रममा आधारित छन् र विश्वविद्यालयको पाठ्यक्रममा समेत राखिएका छन् ।

नेपाल केमिकल सोसाइटीको कार्यकारिणी सदस्य तथा कार्यवाहक महासचिव भएर काम गर्नु भएका उहाँले सार्क क्षेत्रका देशहरू, युरोप तथा अमेरिकामा विभिन्न कार्यक्रम तथा तालिममा सहभागी भएको अनुभव पनि संगाल्नु भएको छ ।

डा.शर्मा रसायनशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक हुनुहुन्छ भने हाल स्नातकोत्तर तहको प्राध्यापन तथा अनुसन्धानमा संलग्न हुनुहुन्छ । हाल उहाँ त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका सभापतिको जिम्मेवारीमा पनि हुनुहुन्छ ।

विज्ञान र प्रविधिको विकास सम्बन्धी उहाँको विचार पाठक वर्गमा उपयोगी तथा सामयिक हुने ठानी लागि आश्विन १ गते आठौं विज्ञान दिवसको सन्दर्भमा उहाँको परिचयसंगै लिइएको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

मायादेवीः डाक्टर साप् स्वागत छ, मायादेवी अनलाइनमा ।

शर्माः धेरैधेरै धन्यबाद छ । समसामयिक विषयमा कुराकानी गर्ने अवसर दिनुभएकोमा ।

मायादेवीः यहाँको जन्मस्थान साथै मूलथलोको बारेमा केही बताइदिनु हुन्छ कि ?

शर्माः म अर्घाखाँची जिल्लाको सामान्य निम्न मध्यमवर्गिय किसान परिवारमा जन्मिएको हुँ । पछि जिविकोपार्जनको लागि बुवा आमा भारत मुग्लान जानु भएपछि भारतको आसाम तथा अरूणाचल प्रदेशमा प्रारम्भिक शिक्षा प्राप्त गरें पछि बसाई सराइको क्रममा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाको बोडगाउँ भन्ने ठाउँ नै मेरो मूलथलो बन्नगएको छ। । मैले एस. एल. सी. सम्मको शिक्षा वाणगंगा माध्यमिक विद्यालय, गजेहडाबाट प्राप्त गरेको हँु । अहिले देशको राजधानी कार्यथलो बनेको छ ।

मायादेवीः यहाँले देशको पहाड–तराई तथा विदेशको पनि अनुभव गर्नुभएको छ ? हामी विकासको सन्दर्भमा पछाडी पर्नुका कारणहरू के–के हुन सक्छन् ?

शर्माः देशको कुनै पनि खास भूगोलको आफ्नै विशिष्ट महत्व हुने गर्दछ, विकास भनेको खासमा एकिकृत पहल (Integrated approach) हो । पहाडी भू–भागको आफ्नै खास महत्व छ भने तराइको पनि त्यसरी नै विशेष भूमिका र महत्व रहेको छ ।

त्यसैगरी हिमाल, पहाड तराई सबै ठाउँमा भूगोलको विविधता सँगै आवहवामा पनि विविधता छ । यी सबै भूगोलका मानिसहरूमा समग्र विकासको लागि एक अर्को ठाउँको खास महत्व छ । एक–अर्को ठाउँको उपयोगिता जनता माभ mखास नीति बनाएर पु¥याउन नसक्नु नै हामी विकासमा पछाडी पर्नुको खास कारण हो जस्तो मलाई लाग्दछ ।

मायादेवीः राज्यलाई विज्ञान र प्रविधिको प्रयोगबाट विकासमा कसरी अगाडि लैजान सकिन्छ ?

शर्माः विज्ञान र प्रविधिको विकास भन्नाले ठूला ठूला उद्योग, कलकारखाना, भु–उपग्रह, क्षेप्यास्त्र इत्यादि भन्ने झलक्कै बुझिन आउँछ, जुन कुरा अरू देशको लागि उनीहरूको आवश्यकताअनुसार सही हुनसक्छ । तर हाम्रो देशको सन्दर्भमा सहीहुन सक्दैन । विज्ञान र प्रविधिले सामान्य जनमानसको कार्य सम्पादनमा सहजीकरण हुन सक्नुपर्दछ ।

आमजनमानसमा रहेको परम्परागत ज्ञान, सीपलाई परिस्कृत गर्ने खालको हुनुपर्दछ जसबाट स्थानीय स्तरमा उपलब्ध संसाधनको उचित उपयोगबाट दैनिक जीवनमा सकरात्मक परिवर्तन ल्याउन सकियोस् । देशको विभिन्न भागमा उपलब्ध प्राकृतिक सम्पदा, स्थानीय ज्ञान र सीपबाट सञ्चालन हुन सक्ने स–साना उद्योगहरूको विकासमा राज्यले टेवादिने नीति तथा कार्यक्रम ल्याउनु पर्दछ । खासमा भन्ने हो भने सरकारले संरक्षक तथा अभिभावकको भूमिका खेल्न आवश्यक छ ।

मायादेवीः अन्य केही उदाहरणहरू लिनुपर्दा … … …
शर्माः कृषिमा आधारित लघु उद्योगहरू सञ्चालनमा ल्याउन सकिन्छ, जस्तो कि फलपूलमा आधािरत उद्योगहरू,पशुपालन तथा दुग्ध व्यवसाय तथा वन पैदावारमा आधािरत उद्योगहरू जडीबुटी उत्पादन, मह–उत्पादन,चिया, अलैचि, अदुवा र मसला उद्योग इत्यादि कृषि तथा वनमा सामन्जस्य स्थापना गरेर अगाडि बढाउन सकिन्छ ।
मायादेवीः विज्ञान–प्रविधिको विकासमा राजकिय निकायहरूको भूमिकाको बारेमा केहि प्रकाश पारिदिनु हुन्छ कि ?

शर्माः नेपाल विज्ञान तथाप्रविधि प्रज्ञा प्रतिष्ठान (Nepal Academy of Science and Technology, NAST) विज्ञान तथा प्रविधिको विकासको लागि स्थापना गरिएको मुख्य निकाय हो । त्यसैगरी त्रिभुवन विश्वविद्यालयकोव् यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, रिकास्ट ( Centre for Applied Science and Technology, RECAST), नेपाल सरकारको वनस्पति विभाग अन्तर्गतको अनुसन्धान प्रयोगशाला तथा विभिन्न निकायहरूको प्रयोगशालाहरू छन् । खासमा नेपालको हावापानी सुहाउँदो, स्थानीय आवश्यकता बमोजिमको अनुसन्धान र प्रविधि विकास मुख्य कुरा हो । आमजनमानसले यी राज्य पोषित निकायहरू जनताले बुझ्ने गरी काम गरिरहेका छन् कि छैनन् भनेर बुझ्नु आवश्यक छ ।

मायादेवीः नेपालको सन्दर्भमा सूचना प्रविधिको विकास र नवप्रवर्तनलाई कसरी हेर्नु हुन्छ ?

शर्माः खास गरी नेपालको पछिल्लो समयदेखि सूचना प्रविधि क्षेत्रमा आशालाग्दो रूपमा विकास भएको छ। थोरै भएपनि दुर्गम गाउँ घरमा पनि प्रविधिको उपयोग लिन सकिन्छ,। तर नेपालमा जति फाइदा लिनु पर्ने हो त्यो हुन सकेको छैन किनकी हाल प्रविधिलाई अधिकांश रूपमा मनोरञ्जनको माध्यमको रुपमा मात्र प्रयोग गरिरहेका छौं । यसरी प्रविधिलाई मनोरञ्जनको माध्यम बनाइको साटो कृषि, स्वास्थ्य जस्ता विभिन्न क्षेत्रमा अत्यधिक प्रयोग गरी ग्रामीण क्षेत्रमा त्यसबाट सेवा पु¥याई देश विकासमा अघि बढाउन सकिन्थ्यो त्यो हुन सकिरहेको छैन ।उदाहरणको रूमपा मुगु जिल्लाको कुनै एउटा ग्रामीण भेगमा कृषि फर्म खोलियो भने त्यहाँ प्राविधिक जानकारी लिन इन्टरनेटको माध्यमबाट विज्ञहरूले त्यहाँका किसान सँग प्रत्यक्ष अन्तक्र्रिया गरी उनीहरूको समस्या बुझी समाधान गर्न सकिन्छ । यस्तै खालका कृषि, स्वास्थ्य केन्द्रमा थुप्रै प्रयोगहरू गरी देशलाई विकासको बाटो तिर अगाडी बढाउन सकिन्छ ।

अन्य देशबाट सिक्दै नेपालमा कसरी (सूचनाप्रविधिको माध्यमबाट) विकास गर्न सकिन्छ ?

कुनै पनि देशको विकास हुन त्यहाँका जनताहरू आफैं जाग्नु पर्ने हुन्छ । जनताहरू आफै जागे भने देशको विकास हुन कठिनाइ हुँदैन । यतिमात्र कि सरकारको सही योजना निर्माण गर्न अतिआवश्यक हुन्छ । उदाहरणको लागि फ्रान्स, बेल्जियम, हल्यान्ड जस्ता देशमा त्यहाँको पुनःनिर्माण युगताका जनताहरूमा एउटा जागरण नै आयो र विकास निर्माणमा देश अग्रसर हुँदै त्यहाँको विकास भयो ।

नेपालमा हाल यहाँबाट अधिकतम युवा विदेशीरहेका छन् त्यस्तो जनशक्तिलाई नेपालमा काम गर्न सक्ने वातावरण सरकारले बनाउनु पर्दछ र अधिकतम मानव संसाधनको प्रयोग गर्नुपर्दछ । साथै हाम्रो देशको पारम्परिक पद्धति तथा प्रविधि (Indigenous Technique) लाई बढावा दिनलाई र प्रविधिको अधिकतम प्रयोग गर्ने तर्फ देशले ध्यानदिनु जरूरी छ ।

मायादेवीः समय र संवादको लागि धन्यबाद
शर्माः यो विज्ञान दिवसमा आफ्ना धारणा राख्ने अवसर दिनुभएकोमा मायादेवी अनलाइन परिवार प्रति आभारी छु । अब मुलुक विकास गर्न अधिकतम विज्ञान र प्रविधिको प्रयोग गर्नु पर्दछ । राज्यका हरेक संरचना प्रविधिमय बनाउन सकिएमा भ्रष्टाचार लगायतका वेथितिहरु नियन्त्रणमा पक्कै पनि सहजता हुने छ । फेरि पनि धन्यबाद । नमस्कार ।

प्रकाशित मिति : १ आश्विन २०७७ बिहिबार ००:००  ९ : ०० बजे