२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

‘जनता जान्न चाहान्छन्’ मा माधव नेपालले किन ल्याए जिया भुसालको कुरा ?



मायादेवी अनलाइन, चार नम्बर ।
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले चर्चित पत्रकार ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहान्छन्’ मा कपिलवस्तुकी भाइरल गर्ल जिया भुसालको कुरा उठाउनु भएको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली, सरकार र पार्टीका काम कारबाहीबारे पत्रकार धमलाले सोधेको प्रश्नको जवाफ दिने क्रममा नेपालले जियाको प्रसंग ल्याउनु भएको हो ।

जनताको वेदनाबाट पार्टी र सरकार परिलक्षित हुन पर्ने, पार्टीको नीतिले जनताका बेदना समेट्नु पर्ने बताउँदै जियाजस्ता दुखी परिवारलाई पार्टी र सरकारले हेरे मात्र समाजबादको लक्ष्य पुरा हुने नेपालको भनाई छ ।

उहाँले भन्नुभयो ‘अस्ति मैले यस्तै समाचार पढेको थिएँ, कपिलवस्तुको घटना हो यो । कि एउटी नानी ६ बर्षकी । १ कक्षामा पढ्ने । अत्यन्त, बुद्धिमान, अत्यन्तै प्रतिभाशाली, उनीको चाइनी त्यो गीतमा , त्यो संगितमा, पढाइमा अत्यन्त स्मार्ट मात्रै होइन, उनी जेनियस, उनको सम्झना शक्ति यति धेरै कि, जम्मै प्रश्नको सरर जवाफ दिएको, मैले भिडियो देखेँ, त्यो भिडियो देखिसकेपछि म अत्यन्त प्रभावित भएँ । र, तिनको बाबु वितेछन् विचरा, विरामीले । आमा एक्लै । त्यति पढेलेखेकी छैनन् । अनि माइतीकोमा बसेकी छन् । अनि ती आमा र छोरी विचराको वेदना, देखेर मैले तुरुन्त हाम्रो कपिलवस्तुका प्रदेश सभाका सदस्यलाई फोन गरेँ । त्यहाँ जानुस्, जे सहयोग गर्न पर्छ गर्नुहोस्, जे नोकरी लगाउन पर्छ लगाउनुस्, त्यो विद्यार्थीलाई भर्ना गर्नुहोस्, होइन भने म काठमाडौंमा टु क्लासमा भर्ना गर्छु । जनताहरु पिरोलिएका छन् । त्यो परिवारले आफ्नो निम्ति गार्जेन पाउन सकेका छैनन्, तिनलाई सहयोग गर्नू । त्यसपछि उहाँले २ लाख पनि दिनुभयो । भर्ना पनि गर्नुभयो । म ज्यादै खुसी भएँ ।’

नेता नेपालले बैतडीको एक दुखी महिलाको खबरले पनि आफूलाई सोचमग्न बनाएको बताउनु भयो । बाबा-आमाविहिन एक १५ बर्षकी किशोरी र उनको दुख पढ्दा सरकारमाथी नै प्रश्न उठेजस्तो आफूले अनुभुति बटुलेको उहाँको भनाई छ ।

नेता नेपालले अब यस्ता विषयमा नेता, मन्त्री, कार्यकर्ता, जनप्रतिनिधि, नेताहरुको संवेदनशिलता भएमा मुलुकको विकास हुने दाबी गर्नुभयो । यसै अन्तर्वातामा उहाँले पार्टीमा दलाल पुँजीबाद हावी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, “मलाई एक जनाले भन्नुभएको थियो, पार्टीमाथि गुट हावी भयो । गुट भित्र दलाल पुँजीबाट हावी भयो । माफियारु हावी भए । भ्रष्टहरु हावी भए । यही चिन्ताको विषय हो भन्दै म कहाँ आउनु भएको थियो केही साथीहरु, नागरिक क्षेत्रका सम्मानित वयक्तिहरु, उहाँहरुको भनाई थियो । कम्युनिष्ट पार्टी भित्र गुट हावी भयो । पाटीमा दलाल होइन, माफियाहरु होइन, भ्रष्ट हावी हुनु भएन जनता हावी हुनुपर्यो । मैले यही भनेको हो ।”

नेपाल र ओलीको सम्बन्ध, नेपालको ओलीलाई सहयोग नगरेको भन्नेबारे धमलाको प्रश्नको जवाफमा नपालले यस्तो बताउनु भएको हो ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सक्रियतामा सांसद विष्णु पन्थी जियाको घरमा पुगेर गरेको सहयोगबारे मायादेवी टिभीले बनाएको एक विशेष रिपोर्ट ।

प्रकाशित मिति : ३ आश्विन २०७७ शनिबार ००:००  ८ : ५० बजे