१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाणगंगाबासीको समस्याः ‘पस्केको खाना छोडेर गाई धपाउन कुद्नु पर्दछ’



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
आइतबार साँझ साढे सात बजेतिरको कुरा हो । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ तौलिहवा रोडमा गजेहडातर्फ गाई र गोरुको हुलले पुरै बाटा कब्जा गरी हिँडिरहेका थिए । तिनै गाई गोरुहरुको पछाडीपछाडी झुँगा र ठाकुरापुरका केही स्थानीय बासी हातमा लौरा, घारा र घोँचा बोकेर दौडिरहनु भएको थियो । रेडियो मायादेवीको कार्यालय मुनीबाट सुरु भएको गाई खेद्ने काम आलोपालो गर्दै वडा नम्बर २ मा पर्ने मन्द्रेली टोलनेर बाट सकियो । यतिखेरसम्म साँझको ८ बज्न लागिसकेको थियो । झुँगा र ठाकुरापुरका स्थानीय आजभोली दिनदिनै लगभग करिब १५ । २० मिनेटसम्म गाई धपाउने ड्युटीमा छन् । त्यो पनि पस्केर खानै लागेको खाना छोडेर ।

बाणगंगा नगरपालिकामा छाडा गाईगोरुको उचित ब्यवस्थापन नहुँदा स्थानीयले यसरी दुख पाइरहेका छन् । पछिल्लो समयमा गाईको हुल नै बाली नालीमा पसेर सखाप पार्न थालेपछि बाणगंगाबासीले सास्ती पाएका हुन् । पछिल्लो समय राति र विहानैको समयमा बाणगंगाको वडा नम्बर ४ छाडा गाई गोरुले स्थानीयलाई धेरै दुख दिइरहेका छन् । यद्यपी नगरका बिभिन्न ठाउँमा यस्तै समस्या छ ।

माथिल्लो झुँगाका घनश्याम गौतमले साँझ पस्केर खान ठिक्क पारेको खाना नै छोडेर गाई धपाउन जानु पर्ने स्थिति आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘खाना खान बसेकै बेला गाई आएर पाक्न लागेको धानमा पस्न थाल्छन् । खाना छोडेरै लखेट्न कुद्नु पर्दछ । नजाने हो भने मिनेटभित्रै गाईले धान जति सबै ठेटा पारिदिन्छन् ।’

यस्तै ठाकुरापुरका बाबुराम घिमिरेले पनि आफूलाई छाडा गाईगोरुले खान र सुत्नै नदिएको सुनाउनु भयो । उहाँ पनि आइतबार साँझ गाई खेद्दै दगुर्नु भएको थियो । ‘कहिले तौलिहवा रोडको बाटैबाट आएर बालीमा पस्छन् । कतिखेर पिस हिमालय रिसोर्टको बाटो हुँदै गाउँमा पस्छन् । अनि हामी लख्ट्ने ड्युटिमा खटिनु पर्दछ । कति बेरसम्म लखेट्नू । कहिलेसम्म खेद्नू । कहाँ लगेर छोड्दिनू । जता पनि बाली नाली छ । धान पाक्नै आँटेको छ । यताबाट उता धपायो फेरि यी गाईले अर्को स्थानको बालीनालीमा पसेर सखाप पार्छन्,’ उहाँले भन्नुभयो ।

वडा नम्ब्र २ मन्द्रेली टोलका आइतबारी थारुले सलहले त के खान्थे र यी गाईले त्यति खान्छन् भन्दै छाडा गाईको विकराल समस्याको बारेमा बताउनु भयो । उहाँको भनाई छ कि, ‘हरेक बर्ष बाणगंगामा यी छाडा गाइले निकै सास्ती दिने गर्दछन् । उताबाट लखेटेर यता ल्याइदिन्छन्, यताबाट हामीले उता लखेट्छौँ । पालैपालो सबैले आज भोली छाडागाई गोरु खेद्ने ड्युटी गरिरहनु परेको छ । यसो नगर्ने हो भने बर्षभरी मिहिनेत गरेर तयार पारेको धान खाएर सक्छन ।’

यो पनि पढ्नुहोस् बाणगंगामा सडकदेखि बारीसम्म गाई र गोरुको सम्मेलन, किसान रातभर ग्वालो बस्छन्

यी छाडा गाईको समस्या अहिले नगरपालिकाकै टाउको दुखाइको विषय बनेकोे उपप्रमुख अर्यालले मायादेवीसंग बताउनु भयो । उहाँले थप्नु भयो, ’जनताले गुनासो गरे पनि नगरे पनि यो आफ्नै आँखा अगाडीको समस्या हो । केही गरी यस समस्यालाई समाधान गर्न सकिएको छैन् । गाईहरु यति धेरै संख्यामा आउँछन् कि नियन्त्रण गरेर र पनि साध्य छैन ।कहाँबाट आउँछन् कहाँबाट आउँछन् ।’

छाडा गाईलाई नियन्त्रण गरी राख्ने भनेर बाणगंगा ८ मा कानेकोष भए पनि त्यसले पनि काम गर्न सकेको छैन । अत्यधिक गाईहरु भएकाले कति समातेर त्यहाँ राख्ने ? समस्या भएको उहाँको भनाई छ । उहाँले गाई निर्यातको लागि औपचारिक कानुन बने मात्रै यसको समस्या समाधान हुने बताउनु भयो । त्यसो नहुँदा सम्म छाडा गाई छोपेर राखेर पनि सम्भव नहुने उहाँले बताउनु भयो । यस्तै बिभिन्न वडाध्यक्षहरुले पनि आ-आफ्नो वडामा यसतो समस्या भएको बताउँछन् ।

छाडा गाई गोरुका कारण नगरका अन्य स्थानमा पनि समस्या भएको जनगुनासो मायादेवी अनलाइनसंग दिनदिनै आउँछ । सडक छेकेरै गाईको हुल हिँड्ने भएकाले रातिमा दुर्घटनाको डर पनि नगरमा यत्तिकै भएको यात्रुहरु बताउँछन् । यसअघि पनि पटकपटक यस विषयमा मायादेवी
अनलाइनले प्राथमिकताको साथ खबर प्रकाशन गरिरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७ मंगलबार ००:००  १० : १५ बजे