२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

बाणगंगामा सडकदेखि बारीसम्म गाई र गोरुको सम्मेलन, किसान रातभर ग्वालो बस्छन्



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका बिभिन्न स्थानमा छाडा गाई गोरुले सताउन थालेका छन् । नगरका वडा नम्बर १, २, ४, ७ र ८ का बनगाई, बोडगाउँ, चार नम्बर, जितपुर, ठाकुरापुर, झुँगा, गजेहडा, पिपरा, वैरिया लगायतका स्थानमा लगाइएका बालीमा रातदिन छाडा गाइगोरु पसेर रजाँई गर्दा स्थानीय हैरानी खेप्न बाध्य भएका हुन् ।

सुरुमा ३÷४ वटा गाई, गोरु, बाच्छा, बाच्छीहरु मात्र देखिए पनि अहिले सबै स्थानमा छाडा गाइको संख्या करिब ५० । ६० हुन आएको स्थानीयले मायादेवीसंग बताए ।

ती सबै स्थानमा दिउँसोमा १० । १५ वटाका दरले गाईहरु जम्मा हुन्छन् भने रातिको समयमा ठुलै संख्यामा बालीनालीमा पसेर हैरान पारिरहेको किसानहरुले बताउने गरेका छन् ।

वडा नम्बर ४ ठाकुरापुरकी सिता घिमिरेले बारीमा दुख गरी लगाएको बाली खाइदिएपछि चिन्ता ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘घर अगाडी लगाएको तरकारी र अरु बाली गाईले खाएर रित्तै बनायो । आजभोलि त गाईको संख्या पनि बढेका छन् । रातभर सुत्नै दिँदैनन् । आँखा झिमिक्कै गर्यो कि सबै खाएर सक्छन् ।’

वडा नम्बर ४ कुवेरापुरका रामु न्यौपानेले आफ्नो बालीनाली नभए पनि धान, तरकारी, मकै इत्यादि लगाएकाहरु केहीदिनदेखि रातभर ग्वालो बस्न पर्ने स्थितिमा रहेको बताउनु हुन्छ । गाईगोरु, बाच्छाबाच्छी भेँडाको लस्कर झैँ आएर बालीमा पस्छन् ।

राति सुत्ने हो भने सबै सोत्तर बनाउने हुँदा स्थानीयहरु कुरुवाजस्तै भएर आफ्नो बालीनाली जगेर्ना गर्न कुरेर बस्ने गर्नुहुन्छ, उहाँले थप्नु भयो । रातिमा मात्र होइन दिउँसोमा पनि ती छाडा पशुचौपायले दुख दिने गरेका छन् ।

रात र दिनको समयमा ती गाईगोरु सडकभरी घुमिरहँदा यात्रा गर्न, स–साना केटाकेटीलाई बाहिर पठाउन सक्ने स्थिति पनि नभएको भन्दै सडक किनारका सर्वसाधारणले मायादेवीसंग गुनासो पोखे । यस्तै तिनै पशु चौपायका कारण सवारी दुर्घटना पनि निम्तिएको छ । सडकभर लस्कर लागेर ती गाईगोरु हिँड्दा सडक नै जाम हुने गर्दछ ।

जितपुरका एक समाजसेवीले लक डाउनमा मानिसको सभा सम्मेलन, गोष्ठी नभए पनि गाई र गोरुको भने दिनहूँ सम्मेलन हुने गरेको भनेर ब्यङ्ग्य गर्नुभयो । उहाँले यिनको ब्यवस्थापनको लागि स्थानीय सरकारको ध्यान आजोस् भनेर त्यसो भनेको बताउनु भयो ।

स्थानीयहरु कसरी छाडा गाईको संख्या बढिरहेको छ जान्न सकिरहेका छैनन् । यता नगरपालिकाले पनि यी छाडा पशु चौपायको ब्यवस्थापनमा ध्यान दिएको छैन् । गाईहरु कहाँबाट थपिए, संख्या किन बढ्दै छ ? स्थानीय सरकारलाई पनि केही थाहा छैन ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले पनि छाडा पशुचौपायले गर्दा किसानले धेरै नोक्सानी गरेको भन्दै यसको श्रोत पत्ता नलगाउँदासम्म समस्या कायम भइरहने बताउनुभयो ।

नगर प्रमुख मंगल प्रसाद थारुले बाणगंगामा छाडा पशु चौपाय समस्या नै भएको बताउनु भयो । यस विषयमा नगरको ध्यानाकर्षण भएको बताउँदै चाँडै नगरले व्यवस्थापन गर्ने बताउनु भयो ।

प्रहरीले पनि गाईको हुल देख्दा धपाएजस्तो त गर्दछ । तर एकै छिनमा फेरि त्यही स्थानमा धपाइएका गाइगोरु जम्मा हुन्छन् ।

मुख्य गरी वडा नम्बर ७ को बनगाई र कोइली वनगाइमा लगायतमा छाडा गाईको कारण मस्तै बालीनाली नोक्सान भएको सर्वसाधारणले बताएका छन् । सडक किनारका मात्र नभएर भित्रि गाउँमा पनि किसानलाई छाडा पशु चौपायले दुख दिने गरेको देख्न सकिन्छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७ आइतबार ००:००  ९ : ३८ बजे