७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मालपोत कार्यालय तौलिहवामा थामि नसक्नु भीँड, ‘न मास्क, न सामाजिक दुरी’ (भिडिओसहित)



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
जिल्ला मालपोत कार्यालय तौलिहवामा थामि नसक्नु भीँड हुन थालेको छ । जिल्लामा लकडाउन फिर्ता भएसंगै कार्यालयमा भीडभाड बढ्न थालेको हो । अन्य दिनभन्दा मंगलबार कार्यालयमा सेवाग्राहीको अत्यधिक भीँड देखियो । कार्यालय भित्र, बाहिर, सेवा लिने हरेक शाखामा ठेलमठेल गरी सेवाग्राहीले काम गरेको देखिन्थ्यो ।

सयौँको संख्यामा मानिस भए पनि त्यहाँ न सामाजिक दुरी कायम थियो, न काम गर्ने स्थानमा साबुनपानी र सेनेटाइजरको ब्यवस्था नै । जिल्ला प्रशासन कार्यालयकै नजिक भएको यो भीँडले समुदायमा स्तरमा कोरोना थप फैल्न सक्ने भन्दै सेवाग्राही स्वयम्ले मायादेवी अनलाइनसंग चिन्ता व्यक्त गरेका छन् ।

जग्गा पास गर्न भनी मंगलबार नै तौलिहवा पुगेका बाणगंगा नगरपालिका वडा नम्बर ४ का राम प्रसाद न्यौपानेले मालपोत कार्यालयमा भएको यो भीँडले थप सन्त्रास मच्चिएको बताउनु भयो । ‘सबैभन्दा बढी भीँड हुने सरकारी कार्यालय मध्ये एक हो मालपोत । यसै त अरु बेला पनि यहाँ धेरै भीँड हुन्छ, तर मंगलबार देखिएको भीँड कुनै मेलाभन्दा कम थिएन न्यौपानेले बताउनु भयो ।’

बाणगंगाका सेवाग्राही कृष्ण पौडेल र दीपक कँडेल तथा तौलिहवाका सेवाग्राही अब्दुल कुर्मीले जग्गा पास गर्ने कामको लागि मालपोत आएको मायादेवीसंग बताउनु भयो । उहाँहरुले सेवाग्राहीको भीँड स्वभाविक भए पनि यसको व्यवस्थापनको काम कार्यालयको भएको भन्दै गुनासो गर्नु भएको छ ।

‘मालपोतका जुनसुकै शाखामा भीँड छ । कहिँ पनि सेनेटाइजर छैन् । सामाजिक दुरी पनि छैन् । हात धुन ठाउँ छैन् । मानिसले मास्क पनि लगाएका छैनन् । तर यसमा न त प्रशासनको ध्यान छ, नत कार्यालयले कर्मचारी खटाएर व्यवस्थापन गर्न नै सकेको छ, बाणगंगा वडा नम्बर २ नन्दनगरका सेवाग्राही कँडेलले भन्नुभयो ।

यो भीँडको बारेमा कार्यालय प्रमुख क्रषिराम पौडेलले अन्य दिनमा भन्दा मंगलबार अत्यधिक भीँड भएको बताउनु भएको छ । मालपोत कार्यालय तौलिहवाबाट अहिले १० पालिकामध्ये ७ पालिकाले हप्ताभरी आलोपालो गरी सेवा लिने गर्दछन् ।

त्यसैक्रममा मंगलबार बाणगंगा नगरपालिकाको पालो परेकाले धेरै भीँड भएको उहाँले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘जिल्लाका १० पालिकामध्ये बाणगंगा सबैभन्दा बढी कारोबार हुने पालिका हो । जग्गाकै कारोबार गरेर धेरै घर परिवारले जहान परिवार पाल्ने गरेका छन् । सबैको काम चलाउनै पर्यो ।’ लामा समय लकडाउन भएका कारण पनि भीँड भएको उहाँको भनाई छ ।

सामाजिक दुरी कायम नभएको, सेनेटाइजर र साबुन पानी पनि नभएको प्रश्नमा उहाँले यो कार्यालयले व्यवस्थापन गर्नै नसक्ने प्रतिक्रिया दिनुभयो । प्रशासनले पनि जतिसक्यो काम गर्नू भनेकाले यही अनुसार कार्यालय संचालन गरिएको पौडेलले बताउनु भएको छ । जिल्लामा कोरोनाको जोखिम उच्च भएकाले अहिले जिल्लामा २ स्थानबाट मालपोतको काम भइरहेको छ ।

मालपोत तौलिहवाबाट तौलिहवाबाट कपिलवस्तु, बाणगंगा, बुद्धभूमि, मायादेवी, शुद्धोधन, यशोधरा र महाराजगंजका पालिकाका सेवाग्राहीले सेवा लिन्छन् भने कृष्णनगरबाट विजयनगर, शिवराज र कृष्णनगर नगरपालिकाबासीले सेवा लिइरहेका छन् । यसो गर्दा पनि मालपोतमा भीँड कम भएको छैन । लालपुर्जा वितरण, जग्गा रोक्का र फुकुवा, जग्गा पास लगायतका फाँटमा दिनहूँ भीँड हुने गरेको दुवै कार्यालय बताउँछ ।

थप भिडिओ हेर्नुहोस्

प्रकाशित मिति : ६ आश्विन २०७७ मंगलबार ००:००  ७ : ०४ बजे