खोजी जारी छ, आवश्यक परे अक्सिजनसहित गोताखोरको टोली कपिलवस्तु आउँछः इन्स्पेक्टर ढकाल


मायादेवी अनलाइन, चार नम्बर ।
बुधबार दिउँसो कपिलवस्तुको कोइली खोलाले बगाएका वेपत्ताहरुलाई जसरी पनि फेला पारिने खोजीमा खटिएका सुरक्षाकर्मीले बताएका छन् ।

बुधबार दिउँसो ४ बजेदेखि बाणगंगा नगरपालिका वडा नम्बर ७ र ९ को बीचमा पर्ने कजवेमा आएको खोलाले विद्यूत कार्यालयको जीप बगाएकोमा अझै २ जना वेपत्ता छन् ।

बुधबार ४ घण्टासम्म वेपत्ताहरुलाई खोजी गरिए पनि फेला पार्न नसकिएपछि विहीबार विहानै ५ बजेबाट सशष्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजीमा परिचालित छ ।

खोजीमा अहोरात्र खटिनुभएका इलाका प्रहरी कार्यालय पिपराका इन्स्पेक्टर अर्जुन प्रसाद ढकालले धैर्यता नगुमाउन आग्रह गर्दै जसरी पनि उहाँहरुलाई फेला पारिने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘तिन सुरक्षा अंगका तिन चार टोली अहिले पनि खोजीकार्यमा लागि रहेकै छौँ । हाम्रो विश्वास छ कि हामीले नै फेला पार्छौ । घटनास्थलमा पानीको सतह बढेकाले खोजीमा समस्या भएको छ । त्यहीँ कतै शव गढेको हाम्रो अनुमान छ ।’

आफूहरुले कुनै कसर बाँकी नराखी खोजी गरेको र आवश्यक परे मुलुककै उच्च स्तरीय गोताखोर टोली कपिलवस्तु आउने उहाँले बताउनुभयो । त्रिशुली, फेवाताल लगायतमा हराएका र असम्भव लाग्ने घटनामा पनि सो संयन्त्र सफल भएको हुँदा सो गोताखोरको टोली कपिलवस्तु आएर खोजी गर्ने इन्स्पेक्टर ढकालको भनाई छ ।

घटनाबारे माथिल्लो तहसम्म पनि जानकारी गराएको र आफूहरुले बोलाउनासाथ सो टोली यहाँ आइपुग्ने उहाँले जानकारी दिनुभयो । सकेसम्म आफूहरु नै यस कार्यमा सफल हुने उहाँले दोहोर्याउनु भयो ।

२४ घण्टासम्म वेपत्ताको शव पानीमा गढ्ने भएकाले त्यहीँ भेटिन्छ भन्ने विश्वास रहेको बताउँदै वडा नम्बर ६ को लक्ष्मणसम्म विपद् टोली खटिसकेकाले बढी चिन्तित नरहन अनुरोध गर्नुभयो । उहाँले पानी बढी परिरहेकाले सतर्क रहन आग्रह गर्दै घटनास्थलमा आएर आफूहरुलाई डिस्टर्व नगर्न पनि विन्ति गर्नुभयो ।

विद्युतको काम सकाएर कार्यालय फर्कदै गरेको विद्युत प्राधिकरण गजेहडा शाखाको जिप कोइली खोलाले बगाएको थियो । ६ जना सवार मध्ये ३ जना हाम फालेर बाँच्न सफल भएका छन् भने जिप चालक माधव पाण्डेको शव भेटिएको छ । कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेल र अर्घाखाँची शितगंगा १३ का केशव भाट क्षेत्री खोलामा हराइरहनुभएको छ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस