अक्सिजन लगाएर दिनभर गोताखोरले खोजे पनि कृष्ण पौडेल भेटिएनन्


मायादेवी अनलाइन, चार नम्बर ।
बुधबार दिउँसो कोइली खोलामा सवारी दुर्घटनाबाट हराएका कृष्ण पौडेल विहीबार पनि भेटिएका छैनन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ९ भलवाडबाट विद्युतको काम सकाएर कार्यालय फर्कदै गर्दा कोइली खोलामा विद्युत प्राधिकरण गजेहडा वितरण केन्द्रको जिप दुर्घटनामा परेको थियो ।

जिपमा सवार ४ जना कर्मचारी र २ जना सर्वसाधारण मध्ये वितरण केन्द्रका प्रमुख कृष्ण पौडेलसहित तीन जना खोलामा वेपत्ता भएका थिए । जसमा जिप ड्राइभर माधव पाण्डे र शितगंगा १३ का केशव भाट क्षेत्रीको शव भेटिएको छ ।

पाण्डेको शव बुधबार नै भेटिएपनि भाट क्षेत्रीको विहीबार दिउँसो शव भेटिएको थियो । शव खोज्नका लागि सशस्त्र प्रहरी बल पिपरा र नेपाल आर्मीको टोली परिचालित भएका थिए । भाट क्षेत्रीको शव दुर्घटनास्थलबाट झण्डै १२ किलोमिटर पर जर्लैया भन्नेस्थानमा भेटिएको हो ।

यता पौडेलको शव खोज्नका लागि गण्डक हाइड्रो पावरका गोताखोर टोली परिचालन गरिएको थियो । दुर्घटनास्थलमा विहीबार अपराह्नपखबाट पौडेललाई खोजिए पनि शव फेला मार्न नसकिएको सशस्त्र प्रहरी बल पिपराका प्रमुख अर्जुन प्रसाद ढकालले बताउनुभयो ।

अक्सिजनसहित गोताखोरलाई शव खोज्न पठाएपनि शव फेला पार्न नसकिएको ढकालले मायादेवी अनलाइनलाई बताउनुभयो ।

विहीबार साँझसम्म खोजिको काम गरिएको थियो भने रात परे पछि खोजीको काम बन्द गरिएको छ । दिनभर अविरल बर्षासंगै खोलामा बाढी आउनेक्रम नघटेपछि शव खोज्न समस्या भएको थियो ।

शुक्रबार विहान देखिनै फेरि शव खोज्ने काम थालिने ढकालले बताउनुभएको छ । शुक्रबार दिनभर पनि गोताखोरले शव खोज्ने र शव भेटाउन नसके थप विज्ञ टोली ल्याइने उहाँले बताउनुभयो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस