दाउन्नेमा पहिरोसंगसंगै बस खस्यो, एकको मृत्यु, ६ जना घाइते


नवलपरासी ।
नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो।

बस भिरबाट खस्दा गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना५ख ७९४० नंको बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो।

पहिरोका कारण बस खस्दा अन्य छ जना घाइते भएका छन्। घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । बसमा १८ जना सवार थिए। यसैबीच दाउन्नेको यस खण्डमा बिहीबार बिहान ७ बजेबाट पहिरो खसी राजमार्ग बन्द भएकामा अझै पूर्णरूपमा सञ्चालन हुनसकेको छैन।

गएराति पहिरो पन्छाएर सामान्यरूपमा यातायात सञ्चालन भएकामा पुनः सोही स्थानमा आज बिहान ३ बजेको समयमा पहिरो खसेपछि अहिले राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा रहेको प्रहरी नायब उपरीक्षक खाँणले बताए।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस