१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कोभिड-१९ महामारीका बीच पनि सन्तोषजनक काम गर्न सक्यौंः मेयर श्रेष्ठ



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले गत आव ०७६/०७७ मा सन्तोषजनक काम गर्न सकिएको बताउनु भएको छ । विकासका काम धमाधम चल्दै गर्दा कोरोना महामारीले बाधा गरेपनि यो बीचमा जनताका महत्वपूर्ण काम गर्न सकिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

नगरपालिकामा विहीबारदेखि सुरु भई शुक्रबार सकिएको समिक्षा गोष्ठि कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले कोभिड–१९ को जोखिम नियन्त्रण सोचेजस्तो भएको र लकडाउनले खान नपाएका श्रमिक वर्गलाई राहत वितरण गर्न सकिएको बताउनुभयो । यो काममा नगर भित्रका सबै राजनीतिक दल, पत्रकार, जनप्रतिनिधि र कर्मचारीको महत्वपूर्ण साथ रहेको भन्दै आगामी दिनमा पनि यसैगरी साथ र सहयोग आफुले पाउने विश्वास व्यक्त गर्नुभयो ।

काम गर्नेक्रममा भुलवस त्रुटि हुन सक्ने भन्दै यसलाई सबैले सकारात्मक तरिकाले सुझाव दिनुपर्नेमा जोड दिनुभयो । सबैको प्रयासले मात्र नगरको समृद्धि हुने भन्दै जनप्रतिनिधिले मात्र काम गरेर नहुने बताउनुभयो । शिक्षा, स्वास्थ्यको विकास विना अरु विकास सम्भव नभएको भन्दै नगरको बजेटले भ्याएसम्म यी विषयलाई नगरले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

गत आवमा नगरभित्रका ठूला-ठूला भौतिक निर्माणका काममा कोरोनाले असर गरेपनि साना साना मानिसका दैनिक आवश्यकता रहने काम भएका उहाँले बताउनुभयो । समग्रमा गत आवमा नगरभित्र सन्तोषजनक काम भएको उहाँले बताउनुभयो ।

समिक्षा गोष्ठिमा बोल्दै नेकपाका नगर इन्चार्ज पिताम्बर खनाल, नगर अध्यक्ष देवी बेल्वासे, नेपाली कांग्रेसका नगर सभापति माधव दमासे, पार्टी प्रतिनिधि हिमलाल न्यौपाने, समाजवादी पार्टीका नेता विष्णुहरि शर्मा, राप्रपाका नगर प्रतिनिधि अर्थ बहादुर थापा लगायतले बोल्दै बुद्धभूमि अरुभन्दा फरक र विकासमा अगाडी देखिनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले गत आवमा भएका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो । नगरका विषयगत शाखा र वडामा भएका कामहरुको प्रगति र नगरले गरेका कामहरुको बारेमा उहाँले जानकारी दिनुभएको थियो । पौडेलद्धारा प्रस्तुत कार्यप्रगतिमा गत बर्ष चालु र पूँजीगत गरी ६४.९ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालु तर्फ ७९.५६ प्रतिशत र पूँजीगत तर्फ ४८.६२ प्रतिशत रहेको छ । पटक पटक कार्यालय प्रमुख सरुवा र काम गर्ने बेला कोरोना भाइरसले गर्दा पनि नगरको काम सन्तोषजनक भएको उहाँले बताउनुभयो

नगरका प्रशासकीय अधिकृत राजन पोख्रलले नगरपालिकाले गत आवमा उठाएको आन्तरिक राजश्वको बारेमा जानकारी गराउनुभएको थियो । अधिकृत पोख्रेलद्धारा प्रस्तुत १३ शिर्षकका राजश्व मध्ये सम्पत्ती कर, अन्य प्रशासनीक सेवा शुल्क, व्यक्तिगत घटना दस्तुर शुल्क बाहेक अरु शिर्षमा लक्ष्यभन्दा बढी राजश्व संकलन भएको छ ।

समिक्षा गोष्ठिमा सहभागी ।

प्रकाशित मिति : ९ आश्विन २०७७ शुक्रबार ००:००  ६ : २८ बजे