१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

हेर्दा हेर्दै दिउँसै अर्घाखाँचीमा १७ घर पहिरोले बगायो



विष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँची दक्षिणी पूर्वी क्षेत्रमा अवस्थित शीतगंगा नगरपालिका–१२ स्थित कोठिया मैदानको जोख्ले गैरा गाउँका पहिरोले बगाएका १७ घरका सबै परिवार सकुशल रहेका छन् । पहिरो क्षेत्रमा खोजी गर्दा १७ घरका ९९ जना सम्पर्कमा आएपछि मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए ।

पहिरो जाँदाजाँदै हो–हल्ला गरेर सबै दौडिएर जोगिन सफल भएका छन् । ‘पहिरो जाँदा भागेर तितरवितर भएका कारण सबै सम्पर्कमा थिएनन्, हामीले खोजी गर्दा सबै सुरक्षित रहेछन्’, उनले भने ।

१७ घर–गोठ क्षति भएर नष्ट भएका छन् । केही घर पुरिएका र केही ढलेका छन् । गोठमा पालिएका सबै चौपाया मरेको उनले बताए । दिउँसो तीन बजेतिर पहिरो जाँदा घाम लागेपनि अहिले अबिरल पानी परिरहेकाले चौपाया र घरमा रहेका अन्नपात, नगद लगायतका सामाग्रीको खोजी गर्न समस्या रहेको पहिरोस्थलबाट प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।

गाईभैंसी, बाख्रा, खसीबोका, कुखुरा लगायत घरपालुवा जनावर मरेका छन् । पहिरो आसपास क्षेत्रमा बसोबास गर्ने १८ घर अति उच्च जोखिममा रहेकाले १८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए । पानी परिरहेकाले पहिरो बग्ने क्रम जारी रहेको बस्नेतले बताए ।

पहिरो स्थलमा अहिले सुरक्षाकर्मी, जनप्रतिनिधि, दलका नेता र स्थानीय गएका छन् । पहिरोबाट विस्थापित भएका घरपरिवारलाई शीतगंगा नगरपालिका भित्रका स्कुल, सार्वजनिक भवन र व्यक्तिगत घरमा राख्नेबारे छलफल भइरहेको एवं उनीहरुलाई खाने–बस्ने व्यवस्था नगरपालिकाले मिलाउने नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण पहिरो गएको उनले बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७७ शुक्रबार ००:००  ६ : ५५ बजे