७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

साताको अक्षरः ‘असहाय म’



कविता

म संग थुप्रै कमजोरी छ
तिमी जस्तो म गर्नै सक्दिनँ
म संग एउटा सानो मगज छ
तिमी जस्तो धेरै सोच्नै सक्दिन
असहाय म असहाय नै छु ।

चूल्हो जलाउन समर्थ छु
आगो झोस्न भने पारा आएन
परिश्रम गर्न शरम छैन मलाई
हात पसार्दै हिँड्न पटक्कै जानिनँ
असहाय
म असहाय नै छु ।

जीविकोपार्जनमा संघर्षरत छु
फलरहित युद्ध छोड्नै सकिन
मानवता मर्दा तिमीहरु जस्तै
खितिति हाँस्दै हिँडनै जानिनँ
असहाय
म असहाय नै छु ।

घाटा थियो
तर सत्य छोडिन
प्रसिद्धि कमाउन इमान बेचिनँ
पाखण्ड पोषेर तिमीले जस्तो
झूठको खेती नि गर्नै सकिनँ
असहाय
म असहाय नै छु ।

म त एउटा सामान्य मान्छे
मान्छेबाहेक अरु बन्नै खोजिनँ
तिमी झैं स्वघोषित महात्मा बनेर
शोषणको माला जप्नै जानिनँ
असहाय म असहाय नै छु ।
अरुण कुमार भुजेल
दार्जिलिङ ।

प्रकाशित मिति : १० आश्विन २०७७ शनिबार ००:००  ९ : ४२ बजे