१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

३५ औँ ‘वर्थ डे’ मा विद्यालयलाई ल्यापटप दिने राम सुभागे थारु



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा जन्म दिन मनाउने भिन्नाभिन्नै तौर तरिकाहरु देखिन थालेका छन् । यहाँका शिक्षक, ब्यापारी, समाजसेवी, संचारकर्मी, संघसंस्थाका प्रमुखदेखि राजनैतिक दलका नेताकार्यकर्तासम्मले आफ्नो जन्म उत्सवमा सामाजिक र मानवीय कार्य गर्दै आइरहेका छन् ।

आफूहरु जुनजुन क्षेत्रमा आवद्ध भएका छन् सोही अनुकुलको सामाजिक काम गर्ने क्रममा अलि भिन्न रुपमा युवा समाजसेवी राम शुभागे थारु पनि थपिए । शनिबार परेको आफ्नो ३५ औँ जन्म दिनलाई उनले यस अर्थमा विशेष बनाए कि, आर्थिक अवस्था कमजोर भएर प्रविधिमा जम्न नसकेको विद्यालयको लागि ल्यापटप नै हस्तान्तरण गरे । उनी युवाहरुमा अहिलेका सफल व्यवसायी मानिन्छन् ।

लायन्स क्लव आफ कपिलवस्तुका सचिव तथा बुद्ध कम्युटर सप्लायर्स चार नम्बरका संचालक समेत रहेको थारुले बाणगंगा नगरपालिकाको गजेहडामा रहेको सिद्धार्थ आधारभूत विद्यालयमा महंगो ल्यापटप वितरण गरेका हुन् । आफूले सानैमा शिक्षादिक्षा ग्रहण गरेको विद्यालयलाई अझै प्रविधिमा रहेर काम गर्न सहयोग् मिलोस् भन्ने मनसायले सुभागेले ब्राण्डेड ल्यापटप वितरण गरेको बताइएको छ ।

ल्यापटप ग्रहण गर्दै विद्यालयकी प्रधानाध्यापक सृजना न्यौपानेले यसको सही सदुपयोग हुने गरी प्रयोग गर्ने बताइन् । ल्यापटपजस्तो महंगो चिज बाँड्नु सामान्य नभएको भन्दै जन्म दिन पर्ने थारुलाई यस अतुलनीय कार्यको लागि विशेष धन्यबाद, बधाई र शुभकामना दिए ।

क्लवका अध्यक्ष सुरेन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न ल्यापटप वितरण कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले सुभागेको काम सबैको लागि अनुकरणीय रहेको बताउँदै ल्यापटपको सही सदुपयोग गर्न विद्यालयलाई आग्रह गरे । यो कार्यले सुभागेको मानवीय र सहयोगी चरित्रलाई थप प्रकाश पारेको उनको भनाई छ ।

कार्यक्रममा विशिष्ट अतिथि जोन ६४ चेयर पर्सन तथा लायन्स क्लव कपिलवस्तुका संस्थापकअध्यक्ष कृष्ण केसी, डिडिएम कुमार खड्का, वडा नम्बर ४ का वडा सदस्य क्रषिराम थारु, पिआरओ नवदत्त घिमिरे लगायतले शुभागेलाई जन्म दिन र यो नमुना कामको लागि बधाई तथा शुभकामना दिए ।

लायन धातानन्द भुषालको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन लायन ओम प्रकाश घिमिरेले गरेका थिए । कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनी, लायन विष्णु पाठक, समाजसेवी शारदा पाठक लगायतको सहभागिता थियो ।

No description available.

प्रकाशित मिति : १० आश्विन २०७७ शनिबार ००:००  २ : ५३ बजे