१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

डा.केसीको पक्षमा कपिलवस्तुको चार नम्बरमा पनि रिले अनसन



मायादेवी अनलाइन, चार नम्बर ।
अनसनरत डा, गोविन्द केसीको पक्षमा कपिलवस्तुको चार नम्बरमा पनि रिले अनसन सुरु भएको छ । चिकित्सा क्षेत्र सुधारका माग राखेर अनसन बस्दा पनि केसीका माग सम्बोधनमा राज्यले कुनै चासो नदेखाएकाले सरकारलाई दबाब दिन भन्दै स्थानीय युवाहरुले चार नम्बरमा पाल टाँगेर सोमबारबाट रिले अनसन सुरु गरेका हुन् ।

पछिल्लो समय १९ औँ सत्याग्रहमा रहनु भएका डा केसी जीवन मरणको दोसाँधमा रहँदा जीवन रक्षा गर्ने सबालमा राज्यबाट कुनै चासो नभएको भन्दै उहाँको जीवन बचाउन पनि बाध्य भएर यो धर्ना गर्नु परेको अनसनरत युवाहरुले मायादेवीलाई बताए ।

अनसनमा अहिले दिवस राज पौडेल, विशाल अधिकारी, निर्मल शर्मा, चन्द्रकान्त पोख्रेल, तिलक थापा, शक्तिसिँह ठकुरी लगायतका युवा सहभागी छन् । गोविन्द केसीको माग पुरा नहुँदासम्म आफूहरु पनि भोकै बसी धर्ना दिइरहने अनसनरत युवा सरोज घिमिरेले बताए । डा गोविन्द केसीको पक्षमा रहन जोकोही पनि अनसनमा सहभागी हुन सक्ने घिमिरेको भनाई छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुरा गरी एमबिबिएस विषयको अध्यापन गरिनु पर्ने, पिसीआर परीक्षणको दायरालाई ब्यापक रुपमा बढाइनु पर्ने, २०७५ साउन १० गते सरकारसंग भएको सम्झ्यौता कार्यान्वयन गर्नु पर्ने, मुलकमा ब्याप्त बिभिन्न काण्ड तथा घुस काण्डमा संलग्नहरुको छानबिन गरी तुरुन्त कारबाही गरिनु पर्ने लगायतका केसीका माग पुरा गर्न सरकारले तत्काल कदम चाल्नु पर्ने धर्नारत युवाले बताएका छन् । कार्यक्रमको आयोजक गोविन्द केसीका समर्थकहरु भन्ने रहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७ सोमबार ००:००  २ : १२ बजे