८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बैङलोर र मुम्बइको अति रोमाञ्चक खेलः सुपर ओभरमा बैङ्लोर विजयी



एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।

दुबईमा सोमबार राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो । बैंगलोरले बिना विकेटको क्षति ११ रन बनायो ।

सुपर ओभर अघि मुम्बईका लागि इशान किशनले ९९ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै केइरन पोलार्डले अविजित रहदै ६० रन बनाए ।

कप्तान रोहित शर्मा ८ रनमा आउट हुँदा हार्दिक पाण्डयले १४ र क्विनटन डी कक १४ रनमा आउट भए ।

बैंगलोरका इशुरु उडानाले २ विकेट लिए । एडम जाम्पा, वासिंगटन सुन्दर र युजभेन्द्र चाहलले १र१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्स, देवदत्त पाडीक्कल र आरोन फिन्चले अर्धशतकीय इनिङ्स खेले ।

डी भिलियर्सले अविजित रहदै ५५ अर्धशतकीय इनिङ्स खेले । यस्तै पाडीक्कलले ५४ रन जोड्दा फिन्चले ५२ रन बनाए ।

शिबम डुबे २७ रनमा अविजित रहे । कप्तान विराट कोहली ३ रनमा आउट भए ।

मुम्बईका ट्रेन्ट बोल्टले २ तथा राहुल चाहरले १ विकेट लिए ।

जितसँगै बैंगलोरले ३ खेलमा ४ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ ।

बैंगलोरले पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले हराएको थियो । दोस्रो खेलमा भने बैंगलोर किङ्ग इलाभेन पन्जाबसँग ९७ रनले पराजित भएको थियो ।

मुम्बईको यो दोस्रो हार हो । मुम्बईले ३ खेलमा २ अंक जोडेको छ ।

पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा मुम्बईले कोलकत्ता नाइट राईडर्सलाई ४९ रनले हराएको थियो ।

Image

प्रकाशित मिति : १३ आश्विन २०७७ मंगलबार ००:००  ५ : ३२ बजे