६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

भागबन्डा मिलेपछि तीन विश्वविद्यालयमा नियुक्त भए उपकुलपति



काठमाडौं ।
सरकारले तीन विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर प्रेमनारायण अर्याल नियुक्त हुनुभएको छ । अर्यालले बुधबार नियुक्ति बुझ्नुभएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापक डाक्टर यादवप्रकाश लामिछाने र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्राध्यापक डाक्टर पुण्यप्रसाद रेग्मीलाई उपकुलपति नियुक्त गरिएको हो । पोखरा विश्वविद्यालयमा उपकुलपति बन्नुभएका अर्याल नेपाली कांग्रेस निकट हुनुहुन्छ ।

संस्कृत विश्वविद्यालयका उपकुलपति लामिछाने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली निकट हुनुहुन्छ ।

कृषि तथा वन विज्ञानका उपकुलपति बनेका रेग्मी पनि नेकपा निकट हुनुहुन्छ । उहाँ नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट हुनुहुन्छ । उहाँ यसअघि कर्णाली प्रदेश योजना आयोग उपाध्यक्ष नियुक्त हुनुभएको थियो ।

यी तीन विश्वविद्यालयमा एक वर्षदेखि उपकुलपति रिक्त थियो । उपकुलपतिहरू नियुक्तिमा पनि सत्ता र प्रतिपक्षबीच भागबन्डा मिलेपछि नियुक्ति भएको हो ।

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति देउवासँग पटकपटक उपकुलपतिलगायत विषयमा छलफल गर्नुभएको थियो ।

विश्वविद्यालयमा राजनीतिक भागबन्डाबाट उपकुलपतिलगायत पदाधिकारी नियुक्त नगर्न विद्यार्थी संघसंगठनले माग गर्दै आएका छन् । गत वर्ष त्रिवि उपकुलपतिमा नेकपा निकट धर्मकान्त बाँस्कोटा नियुक्त हुनुभएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७७ बिहिबार ००:००  ८ : ०० बजे