६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

काँग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरुको स्वाब संकलन



काठमाडौं ।

नेपाली काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । १९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा लागि पार्टी कार्यालय सानेपामा नेताहरुको स्वाब संकलन गरिएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र विजय गच्छदार, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, सहमहामन्त्री प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, शेखर कोइराला, गगन थापा, प्रदीप पौडेल, नविन्द्रराज जोशीलगायतले स्वाब दिएका छन् । ७७ केन्द्रीय सदस्यसहित १५९ जनाले स्वाब संकलन गरिएको छ ।

११७ सदस्यीय केन्द्रीय समितिका अधिकाशंक पदाथिकारी तथा केन्द्रीय सदस्यले पिसिआर परीक्षणका लागि स्वाब दिएको काँग्रेस केन्द्रीय कार्यालयका कर्मचारी तथा विद्यार्थी नेता हरि खनालले जानकारी दिए ।

उनका अनुसार नेताहरुका सुरक्षा गार्ड, गाडी चालकको पनि पिसिआर परीक्षणका लागि स्वबा लिइएको छ । साथै पार्टी कार्यालयमा सबै कर्मचारीको पनि स्वाब संकलन गरिएको छ । विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पिसिआर टेस्टका लागि व्यवस्था गरिएको थियो ।

टेकुस्थिति इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा ईडीसीडी बाट मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलको नेतृत्वमा गएको माइक्रो बायोलोजिस्टद्वय नविन पोखरेल र प्रसान्त राउतको टोलीले नेताहरुको स्वाब संकलन गरेको थियो ।

नेताहरुको रिपोर्ट शनिबार आउने मेडिकल टेक्नोलोजिस्ट पौडेलले रातोपाटीलाई जानकारी दिए । पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई बैठकमा सहभागी हुनुअघि कोराना परिक्षण गर्नु पर्ने निर्देशन पार्टी केन्द्रीय कार्यसमितिले यसअघि नै सूचना जारी गरेर दिएको थियो ।

यता सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको भने स्वाब संकलन गरिएको छैन । सभापति देउवा र महामन्त्री कोइरालाले केही दिनअघि मात्र पिसिआर रिपोर्ट नेगेटिभ आएकाले आज स्वाब संकलन नगरिएको बुझिएको छ ।

भदौ २३ गते कोरोना संक्रमित भएका महामन्त्री कोइराला असोजको पहिलो साता कोरोना मुक्त भएका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०७७ बिहिबार ००:००  ३ : ४६ बजे