४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कपिलवस्तु राजधानी बनाउने दृढ अडानमा विष्णु पन्थी, भालुवाङको प्रस्ताव नस्विकार्ने



मायादेवी अनलाइन, बुटवल ।
प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय बिरुद्ध सत्तारुढ नेकपाकै सांसद बिष्णु पन्थीले संसोधन प्रस्ताव पेश गर्नुहुने भएको छ ।

कपिलबस्तुबाट निर्वाचित प्रदेशसभा सदस्य पन्थीले प्रदेशको राजधानी दाङको भालुवाङमा राख्न गरिएको सरकारी प्रस्ताव बिरुद्ध संसोधन प्रस्ताव लैजाने बताउनुभएको छ ।

‘म पहिल्यै देखि कपिलबस्तु राजधानी बनाउनु पर्छ भन्ने पक्षमा हो अहिले पनि त्यही कुरामा दृढ छु, अव चल्ने प्रदेशसभा बैठकमा कपिलबस्तु राजधानी बनाउने प्रस्ताव लैजान्छु । उहाँले भन्नुभयो ।

‘प्रदेश ५ को राजधानीका लागि कपिलबस्तु सबै हिसावले उपयुक्त स्थान हो, सुगमता, सहजता र भौगोलिक हिसावले गुल्मी देखि बर्दियासम्मका नागरिकलाई पायक पर्ने ठाउँ हो, त्यसैले कपिलबस्तु राजधानी बनाउन मेरो अडान आजपनि उत्तिकै छ पन्थीले भन्नुभयो ।’

राजधानीको नाम र मुकाम प्रस्ताव गर्ने बिशेष समितीको सदस्य भई कार्य सम्पादन समेत गरेका पन्थीले पार्टिले दाङको भालुवाङ बनाउने प्रस्तावका पक्षमा मतदान गर्न निर्देशन गरे पनि उक्त ह्विप नमान्ने बताउनुभएको छ ।

आफु मात्र नभई कपिलबस्तुका कुनै पनि प्रदेशसभा सदस्यले भालुवाङमा राख्ने प्रस्तावको पक्षमा मतदान गर्नु हुन्न उहाँले ठोकुवा गर्नुभयो ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेकोले कपिलवस्तु मात्रै प्रदेश राजधानीको लागि उपयुक्त स्थान रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १६ आश्विन २०७७ शुक्रबार ००:००  ५ : ५१ बजे