१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

वाणगंगाको बजार अनुगमनः जम्बो टोली देखेपछि केहीले सटर झारे, केहीको यस्तो बदमासी !



मायादेवी अनलाइन, चार नम्बर ।
चाडपर्वलाई केन्द्रित गरी बाणगंगा नगरपालिकामा बजार अनुगमन भएको छ । नगरपालिका, उद्योग बाणिज्य संघ र पत्रकारहरुको संयुक्त टोलीले ओदारी, गजेहडा र चारनम्बरका पसलहरुको अनुगमन थालेको हो । चाडपर्व नजिकिए पनि नगरबाट अनुगमन नभएको गुनासा आम उपभोक्ताले गर्न थालेपछि नगरपालिका बजार अनुगमनमा तातिएको हो ।

सोमबार नगर प्रमुख मंगल प्रसाद थारु, उप प्रमुख चक्र अर्याल, उपसचिव बाबुराम भट्टराई, कृषि शाखा प्रमुख लेष बहादुर केसी, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, उपभोक्ता हित संरक्षण मञ्चका सचिव राजेन्द्र शाह, नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, सुरक्षाकर्मी लगायतको ४ टोली बिभिन्न स्थानमा परिचालित हुँदै मापदण्ड विपरीत संचालित पसलेहरुलाई चेतावनी पत्र थमाइएको छ ।

सोमबारको अनुगमनमा ओदारीको गुप्ता कृषि सेवा केन्द्र, चार नम्बरको रिया आलु तथा तरकारी सप्लायर्स र अन्य केही किराना पसलले अनियमितता गरेको पाइएको छ । गुप्ता कृषि सेवा केन्द्रले अनुमति (लाइसेन्स) विना बिउ पल, बिषादी बेचबिखन गरेको पाइएको छ भने अनुदानको मल पनि अवैध तरिकाले बिक्रिवितरण गर्दै आएको भेटियो ।

यस्तै चार नम्बरको रिया आलु तथा तरकारी सप्लायर्सले दर्ता बिना लाखौँको कारोबार गरेको, मुल्यसुची टाँस नगरेको, खरिदबिक्रि बिल पनि नभएको, बोर्ड नराखेको हुनाले एक हप्ताभित्र सुधार गर्ने गरी चेतावनी पत्र थमाइएको छ । एक हप्तासम्म पुरा कागजात पुरा नगरे ती पसललाई सिल गरिने नगरप्रमुख मंगल प्रसाद थारुले बताउनु भयो ।

अनुगमनका क्रममा कृषि, किराना, मिठाइ पसल, खाद्यान्न, स्वास्थ्य होटल, खाद्यान्न, मासु होटल रेष्टुरेन्ट, कृषि सहकारीहरुको समिति बनाएरै अनुगमन गरिएको थियो । अनुगमनको क्रमममा धेरै पसलहरूमा मूल्य सुचि नभएको, म्याद गुज्रेका सामान राखिएको, डिजिटल नापतौल नभएको, सरफाईमा राम्रो नभएको, दर्ता नगरेको, म्याद गुज्रिएका सामानहरू भेटिएको छ ।

अनुगमन टोली आउँछ भन्ने थाहा पाएपछि केही पसलहरुले भने सटर लगाएर भागेका थिए । ओदारीमा ठुलो अनुगमन टोलीको संख्या देखेपछि ब्यापारीहरुले विहानै सटर लगाएका थिए ।
यस्तै अनुगमन कडा भएको भन्ने सूचना पाएपछि चार नम्बर र गजेहडाका केही पसल धनीले सरसफाइ गर्न थालेका थिए भने केही सटर बन्द गरेर बसेका थिए । यसो गरेर अनुगमनबाट उम्कन नपाउने उपमेयर चक्रपाणी अर्यालले मायादेवीसंग बताउनु भयो ।

अब अनुगमन गर्दा त्यस्ता स्थानमा छड्के अनुगमन गरिने अर्यालले बताउनु भयो । अहिलेको अनुगमन पनि एक्कासी नै भएको दाबी गर्दै के कसरी सूचना बाहिर गएर ब्यापारीहरुले पसल बन्द गरे आफूलाई थाहा नभएको कृषि शाखा प्रमुख लेष बहादुर केसीले बताउनु भयो ।

बजार अनुगमनमा जनप्रतिनिधि, नगरमा बिभिन्न फाटमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायत रहनु भएको थियो । यसअघि ईलाका प्रशासन कार्यालय बाणगंगा र जिल्ला प्रशासनले जिल्लामा छरिएर रहेका बजारहरुको अनुगमन गरेको थियो । संगै अनुगमनमा फेला परेका म्याद नाघेका र खान योग्य नभएका बस्तुहरु जफत गरी नष्ट गरिएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७७ मंगलबार ००:००  ६ : ४३ बजे