१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कृष्णनगरबाट समातियो ५ किलो ‘अफिम’, पुलिसलाई धक्का दिँदै कारोबारी भारत फरार




मायादेवी अनलाइन, चार नम्बर ।
जिल्लामा प्रमुख समस्याको रुपमा रहेको लागु औषध कारोबारीको जालो तोड्न कपिलवस्तु प्रहरी सक्रिय बनेको छ । जिल्लामा प्रहरी प्रमुखको रुपमा प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीको आगमन भएसंगै लागु औषधविरुद्ध एक्सनमा काम भइरहेको अवस्थामा मंगलबार कृष्णनगरबाट ५ किलो अफिम बरामद गर्न प्रहरी सफल बन्यो ।

दिउँसो करिब साढे १ बजे कृष्णनगर नगरपालिका वडा नं. २ लिङकगेटस्थित डिउटीमा खटिएको प्रहरी टोलीले नेपाल-भारत आवत-जावत गर्ने मानिसहरुलाई नियमित चेकजाँच गर्ने क्रममा सो परिमाणको अफिम बरामद भएको हो ।

रुकुम बाफिकोट गा.पा. वडा नं. ८ दुली घर भई अहिले दाङको तुल्सीपुर उपमहानगरपालिका स्थित गुमराह चोकमामा बस्ने ३५ बर्षका लाल बहादुर खत्री (लाले) को साथबाट प्लाष्टिकको झोलामा बेरेर राखेको अवस्थामा ६ प्याकेट (तौल गर्दा ३ किलो) र शरीर खनतलासी गर्दा थप २ किलो गरी ५ किलो अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

एसपी अधिकारीका अनुसार झोला खनतलासी गर्दा गर्दै अभियुक्त सुरक्षाकर्मीलाई धक्का दिँदै भारततर्फ भागेको थियो । त्यसपछि पिछा गर्दै जाँदा नेपाल भारत सिमाना दशगजा पार गरी कारोबारी भारत तर्फ दौडियो ।

यसैक्रममा भारतीय सिमा सुरक्षा बल (एसएसबी) को टोलिले अभियुक्तलाई नियन्त्रणमा लिई उसको साथबाट (कम्मरको भागमा बाँधेर लुकाएको अवस्था) मा २ किलो अफिम बरामद गर्न सफल भएको अधिकारीले जानकारी दिनुभयो ।

बरामद गरिएको उक्त लागु औषधसम्बन्धि थप अनुसन्धान भइरहेको जनाइएको छ । अपराधी भने भारततर्फ फरार भएकाले पक्राऊ गर्न नसकिएको प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

यस अघि पनि प्रहरीले जिल्लाका बिभिन्न नाका र भित्री स्थानबाट लागु औषध बरामद गरिसकेको छ । एसपी अधिकारीले आगामी दिनमा पनि यस्ता करोबारीविरुद्ध कडा ढंगले कदम चाल्ने बताउँदै कारोबारीको जालो तोडेरै छाड्ने चेतावनी दिनुभयो ।

चाड पर्वको बेला लागु औषधको कारोबार बढी हुन सक्ने भन्दै सिमा नाका, शंकास्पद ठाउँहरुमा सुरक्षाकर्मीको विशेष निगरानी बढाइएको अधिकारीले बताउनु भयो ।

प्रकाशित मिति : ४ कार्तिक २०७७ मंगलबार ००:००  ६ : ०१ बजे