७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कर्णाली विवादबारे प्रचण्ड-नेपालबीच छलफल



काठमाडौं ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। बुधबार बिहान प्रचण्ड निवास खुमालटारमा भएको भेटमा कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल भएको बताइएको छ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच कर्णाली प्रदेशका विषयमा विवाद बढिरहेको छ। मंगलबार प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए। प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई सहकार्यका लागि प्रस्ताव समेत राखेको स्रोतको दाबी छ।

कर्णाली प्रदेश विवादबारे ओली र प्रचण्डले फरक फरक धारणा बाहिर ल्याइसकेका छन्। गत कात्तिक २५ गते कर्णालीको संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरूद्ध ओली र नेपाल पक्षीय सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

मुख्यमन्त्रीसमेत रहेका शाहीविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि कर्णाली सरकार ढल्न लागेको थियो। अन्तिममा नेपाल पक्षीय सांसदहरूले साथ दिएपछि शाहीको पद जोगिएको थियो। कर्णाली सत्तापलट हुने गरी विवाद भएपछि ओली र प्रचण्डले दुबै पक्षका नेताहरूलाई काठमाडौं बोलाएका थिए। असोज २९ गते कर्णालीका नेताहरू काठमाडौं आए पनि अहिलेसम्म दुई अध्यक्षले अब के गर्ने भनेर सुझाउन सकेका छैनन्।

प्रकाशित मिति : ५ कार्तिक २०७७ बुधबार ००:००  २ : ५६ बजे