१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

पर्सामा झडपमा घाइते नेकपा कार्यकर्ताको मृत्यु



वीरगञ्ज ।

पर्साको बिन्दवासिनी गाउँपालिकामा बिहीबार भएको झडपमा गम्भीर घाइते भएका एक जना नेकपा कार्यकर्ताको उपचारका क्रममा मृत्यु भएको छ । नेकपाको विन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको वीरगञ्ज पानीट्याङ्कीस्थित एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बिहीबार विन्दवासिनी गाउँपालिकामा आयोजित नेकपा गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रममा नबोलाएको विषयमा दुई समूहबीच झडप हुँदा ६ जना घाइते भएका थिए । घाइतेमध्ये मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो ।

अर्का गम्भीर घाईते उत्तम तिवारीको उपचार नारायणी अस्पतालमा भइरहेको छ । उनको अवस्था चिन्ता जनक रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जनाकारी दिए । उनको पनि टाउकोमै चोट लागेको छ र सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

झडपमा संलग्न रहेको आशंकामा प्रहरीले बिहीबार नै ८ जनालाई नियन्त्रणमा लिएकोमा तीन जनालाई मात्रै हिरासतमा राखेक़ो छ । देवा सहनी, सुकवीन गद्दी र अनिश मियालाई प्रहरी हिरासतमा राखिएको डीएसपी मनोजीत कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७७ शुक्रबार ००:००  २ : ५२ बजे