१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

प्रभावकारी देखियो वाणगंगा नगरको बजार अनुगमन



मायादेवी अनलाइन, वाणगंगा ।
चाडपर्वको बेला मात्र बजार अनुगमन गरेर झारा टार्ने काम गरेको आरोप लागि रहेका बेला कपिलवस्तुको वाणगंगा नगरपालिकाले गरेको बजार अनुगमन भने प्रभावकारी देखिएको छ ।

नवदुर्गाको तीन दिन बजार अनुगमनमा सक्रिय बनेको वाणगंगाले नियम विपरित सञ्चालन भएका पसललाई कारबाही गरेको छ । नगरका सबै जसो स्थानका बजार अनुगमनमा लागेको वाणगंगाले मापदण्ड विपरित सञ्चालन रहेका पसल तथा व्यवसायीको पसल बन्ददेखि एक हप्ते अल्टिमेटम दिएर बजार अनुगमनलाई प्रभावकारी देखाएको हो ।

स्थानीय सरकारका उप प्रमुखको संयोजकत्वमा अनुगमन समिति गठन हुने कानुनी प्रावधान छ । सोही अनुसार वाणगंगाका नगर उपप्रमुख चक्रपाणी अर्यालको संयोजकत्वमा बजार अनुगमन भएको हो ।

विभिन्न स्थानमा दर्जन बढी टोली बनाएर नगरभित्र सञ्चालनमा रहेका खाद्यान्न पसल, एग्रोभेट, कृषि सामग्री पसल, होटल तथा रेष्टुरेन्ट लगायतका स्थानमा बजार अनुमगन गरेको थियो ।

अनुगमनका क्रममा सबैभन्दा बढी एग्रोभेट र कृषि सामग्री पसल मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ । नगरभित्रका अधिकांश कृषि सामग्री बेचविखन गर्ने पसलले सरकारी नियम उल्लङ्घन गरी व्यवसाय सञ्चालन गरेको पाइएको नगर उप प्रमुख अर्यालले मायादेवी अनलाइनलाई बताउनुभयो । ती पसलहरुलाई छलफलमा बोलाएर सामान्य जरिवाना तिराइएको उहाँले बताउनुभयो ।

नगरपालिकाका कृषि शाखा प्रमुख लेष बहादुर केसीले नगरभित्रका भेटेनरी र कृषि पसल गरी १३ पसल कारबाहीमा परेको बताउनुभयो । अनुगमनका क्रममा ती पसलहरुले अनुमति बेगर मल तथा विषादी बेचेको, दर्ता प्रक्रिया पूरा गरी व्यवसाय सञ्चालन गरेको पाइएको कृषि शाखा प्रमुख केसीले बताउनुभयो ।

अनुगमनका क्रममा ती पसलहरुको सटरमा ताला लगाइएको उहाँले बताउनुभयो । अर्को दिन नगरपालिकामा बोलाएर अबदेखि व्यवसाय गर्दा प्रक्रिया पु¥याउने शर्तमा सामान्य जरिवाना लिएर ताला खुलाइएको उहाँले जनाउनुभयो ।

१३ पसल मध्ये १० पसलले परिणामको हिसाबले सबैभन्दा बढी साढे १३ हजार देखि १५ सयसम्म जरिवाना तिरेका छन् । तीन वटा पसललाई एक महिना भित्र सबै प्रक्रिया पूरा गर्ने शर्तमा जरिवाना तिराइएको छैन् ।

कृषि सामग्री विक्री वितरण गर्ने पसलले कोरोबारको प्रकृती हेरेर बिषादी, बिउ र भेटनरीको अनुमति लिनुपर्ने हुन्छ । साथै अनिवार्य घरेलुमा दर्ता गरी आन्तरिक राजश्व कार्यालयबाट प्यान लिई नगरमा पनि दर्ता गर्नुपर्ने हुन्छ ।

बजार अनुगमन पहिलो पटक गरिएकाले बढी जरिवाना नतिराइएको कृषि शाखा प्रमुख केसीको भनाई छ । यो बर्ष लकडाउनले गर्दा व्यवसायलाई असर परेकाले यस्तो गरिएको बताउनुभयो । आगामी दिनमा पनि यस्तै गल्ती भेटिए कानुन बमोजिम कडा कारबाही हुने उहाँले चेतावनी दिनुभएको छ ।

यता नगरभित्रका तीन औषधि पसलले कानुनी विपरित काम गरेको पाइएको छ । औषधि व्यवस्था विभागमा दर्ता विना वडा नं. ७ का तीन वटा औषधि पसल चलेको पाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभयो ।

ती पसललाई आगामी मंसिर मसान्त महिना भित्र अनिवार्य दर्ता गर्ने गरी यस पटकलाई छाडिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनुभयो ।

प्रदेश सरकारले औषधि पसललाई नियमन गर्ने कानुन बनाउन नसक्दा नियमिन गर्न समस्या भएको छ । वाणगंगाले औषधि पसल सम्बन्धि कानुनलाई अन्तिम रुप दिने गरी काम गरिरहेको जनाइएको छ ।

कानुन निर्माण भएपनि औषधि पसलहरुको नियमित अनुगमन हुने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७ शनिबार ००:००  ८ : ३० बजे