२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

उपत्यकामा चल्ने सवारी साधनमा भाडा लिष्ट नटाँसे कारबाही



काठमाडौं ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण लिष्ट नटाँस्ने सवारी साधनलाई कारबाही गर्ने अभियान थालेको छ ।

सार्वजनिक सवारी साधनले नियम विपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफनो गन्तव्यसम्मको भाडादर सजिलै जानकारी होस भनेर अभियान थालिएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताए । ‘यात्रु ठगिनबाट रोक्नका लागि सबैले देखिने ठाँउमा भाडादरको लिष्ट सवारीमा अनिवार्य राख्न कडाइ गरेको हो,’ उनले भने । सवारी साधनले त्यस्तो लिष्ट नराखेको पाइए नियमअनुसार कारबाही गरिने उनको भनाइ छ ।

महाशाखाले शुक्रबारदेखि अभियानकै रुपमा सवारी साधनको चेकजाँच थालेको छ । यात्रुवाहक सवारी साधनले तोकेको भन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उलंघन गरेको गुनासो आएपछि काठमाडौं उपत्यकामा कडा निगरानी तथा चेकजाँच गरिरहेको महाशाखाका प्रवक्ता एसपी रामेश्वर प्रसाद यादवले जानकारी दिए ।

सडक र सवारी प्रयोगकर्ताहरुलाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनु परेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै महाशाखाले सवारी साधनमा ठूलो आवाज आउने बनाउने, मोडिफाई गर्ने, हर्न बजाउने, ढोका खुल्ला राख्ने तथा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई यसै अभियान मार्फत कारबाही गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७ शनिबार ००:००  २ : १५ बजे