२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

सम्बोधनमा पुरुषलाई ‘नेता’ महिलालाई नेतृ ! यहाँ विभेद छः घिमिरे



मायादेवी अनलाइन, चार नम्बर ।
राष्ट्रिय सभा सदस्य विमला घिमिरेले महिलमाथि हरेक क्षेत्रमा विभेद रहेको बताउनु भएको छ । संविधानले महिला पुरुष समान रहेको कुरा स्पष्टसंग उल्लेख गरेको भए पनि नेपाली समाजमा रहेको सोँचले महिलामाथिको विभेद कायम नै रहेको बताउनु भएको हो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ ले आयोजना गरेको महिलाको लागि ‘सिलाई मेसिन’ वितरण कार्यक्रममा बोल्दै सांसद घिमिरेले घर, समाज, सार्वजनिक सम्बोधनदेखि राजनीतिक नेतृत्वसम्म वर्गिय विभेदले जरा गाडेको भन्दै आक्रोश नै पोख्नु भयो ।

कार्यक्रमको दौरानमा बोल्ने वक्ताहरुले महिला नेतृ भन्दै उहाँलाई सम्बोधन गरिरहेका थिए । यो सुनेर बस्नु भएकी सांसद घिमिरेले आफ्नो पालो आउँदा सबैलाई कटाक्ष गर्दैै बोली फिर्ता लिन समेत अनुरोध गर्नुभयो । महिला अधिकार, विभेद, शशक्तिकरण र समसामयिक विषयमा करिब १ घण्टा भाषण गर्नु भएकी उहाँले नेता र नेतृको अर्थ समेत खोज्नु भयो ।

उहाँले प्रश्न गर्नुभयो, ‘पुरुषलाई सम्बोधन गर्दा नेता रे, महिलाहरुलाई भने नेतृ । महिलालाई नेता भन्दा के विग्रन्छ ? यो नेता र नेतृमा के चैँ फरक छ ? महिला नेता होइनन् ? बिभिन्न क्षेत्रमा नेतृत्व गरेका सबै व्यक्ति नेता हुन् ।’ घिमिरेको यो आक्रोसित भाषण सुनेपछि मंचमा बसेका संविधान सभा सदस्य बलराम अधिकारी, वडाध्यक्ष विष्णु गिरी, टोल विकास समितिका अध्यक्षहरु र सहभागी सबै ट्वाल्ल परेका थिए ।

उहाँले संचार माध्यमदेखि हरेक मञ्चिय र सार्वजनिक कार्यक्रममा महिला नेतृत्वलाई नेतृ नभनेर नेता भन्न सबैलाई सुझाउनु भयो । नेतृत्व क्षमता बढाएर महिलाहरु अब घरघरबाट अधिकारको लागि लड्नु पर्ने भन्दै समाजको बर्गिय विभेद यसै गरी अन्त्य हुने बताउनु भयो ।

समाजका प्रथा, कुप्रथा, परम्परा, पुरुषमा रहेको नीँच सोँच आदिका कारण सक्षम हुँदाहुँदै पनि नारीहरु पछि परेको उहाँको भनाई छ । महिलाहरु अब वडा सदस्य होइन, वडाध्यक्ष, उपमेयर मात्रै होइन अब मेयर, त्यतिमात्र होइन राजनैतिक दलको नेतृत्व गर्न समेत महिलाहरु पछि पर्न नहुने भन्दै उहाँले भन्नुभयो त्यसको लागि सबैभन्दा पहिले नेतृत्व क्षमता बढाउन महिला दिदीवहिनीहरु नै कस्सिनु पर्दछ ।

महिलाको सानो कमजोरीलाई पनि नेपाली समाजमा ठुलो रुपमा लिने गरेकोमा थप आक्रोश व्यक्त गर्नु भयो । संसद भवनमा महिला सांसद बोल्न नसकेको कुरालाई अति बढाइँचढाईँ गरेर मान मर्दन गरेको स्मरण गर्दै त्यो माननीय ज्यूको कमजोरी नरहेर ब्यवस्थाकै उपज भएको उहाँको भनाई छ । वर्तमान सरकार जनताको विकास, समृद्धिमा रहेकोमा दुई मत नभए पनि मिडिया र प्रतिपक्षीले अनावश्यक भ्रम छरेको उहाँको आरोप छ ।

सांसद घिमिरेको भाषण सुनिरहनु भएका वडाध्यक्ष गिरीले धन्यबाद मन्तव्य राख्दा महिला नेतृ घिमिरे भनेपछि फेरि हाँसो उत्पन्न भएको थियो । हाँस्दै गिरीले सच्याउँदै पुनः महिला नेता घिमिरे भनी सच्चयाउनु भयो । त्यसपछि कार्यक्रममा सहभागी सबै गलल हाँसेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७७ बुधबार ००:००  ६ : ५३ बजे