१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बन्द विद्यालय खोल्ने जिम्मा पालिकालाई



काठमाण्डौ ।

सरकारले कोरोनाको जोखिमका कारण बन्द भएका विद्यालय खोल्ने जिम्मा पालिकालाई दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड(१९ को जोखिम नभएका र कम हुँदै जाने पालिकाका विद्यालयमा आलोपालो सिफ्ट वा अरु उपयुक्त विधि अपनाइ पठनपाठन सञ्चालनको बाटो खुलाएको हो ।

मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्याङ्कन गरेर स्थानीय सरकारले नै निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको कार्यढाँचाअनुसार बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्नेछन् ।

कार्यढाँचामा सङ्क्रमणको अवस्थालाई स्थानीय र विद्यालय तहमा समीक्षा गरेर भयरहित तथा सुरक्षित तरिकाले सञ्चालनमा ल्याएर बालबालिकाको शिक्षण सिकाइ, परीक्षा तथा मूल्यांकनसम्बन्धी प्रक्रियालाई सहज बनाउन सकिने उल्लेख छ । त्यस्तै, सहज वातावरण भए विद्यालयमा शैक्षिक गतिविधि निरन्तर गराउने, जोखिमको अवस्था देखिए बन्द गर्ने तथा सहज हुँदा पुनः सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।

संघीय, प्रदेश र स्थानीय सरकारले जारी गरेका जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्ड तथा निर्देशनको परिधिभित्र रही विद्यालय बन्द वा पुनः सञ्चालन गर्ने सम्बन्धमा स्थानीय सरकारले जनप्रतिनिधिलगायत सरोकार पक्षसँग छलफल गर्नुपर्नेछ । यस्तै विद्यार्थी, शिक्षक वा कर्मचारी सङ्क्रमित भएमा के गर्ने भन्ने वैकल्पिक व्यवस्थाबारे समेत विचार गर्नुपर्नेछ ।

पालिकामा भएको समीक्षाको आधारमा आलोपालो वा अन्य उपयुक्त मोडालिटीबारे विद्यालयले प्रस्ताव गर्नुपर्नेछ । पालिकाभित्र सङ्क्रमणको जोखिम नभएको वा सबैभन्दा न्यून रहेको क्षेत्रका विद्यालयबाट पठनपाठन सुरु गर्न सकिनेछ ।

विद्यालय सञ्चालनको सूचना प्रकाशन वा प्रसारण गर्दा विद्यार्थीले आउँदा जाँदा र विद्यालयमा रहँदा पालना गर्नुपर्ने स्वास्थ्यसम्बन्धी मापदण्डको जानकारी दिनुपर्नेछ । विद्यालयमा रहेका क्वरेण्टीन वा आइसोलेशन सेन्टर हटाउँदै विद्यालय भवनको निर्मलीकरण पनि गर्नुपर्नेछ । व्यवस्थापन समितिले विद्यालय सञ्चालन गर्ने निर्णयसँगै जनस्वास्थ्य र सुरक्षाका मापदण्डको जानकारी गराउँदै बालबालिकालाई पठनपाठनका लागि मानसिक रूपमा तयार गर्नुपर्ने कार्यढाँचामा उल्लेख छ ।

यस्तै पालिका र विद्यालयले बालबालिकाको सुरक्षाका लागि फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवतजावत गर्न सक्ने कक्षाकोठालगायत न्यूनतम पूर्वाधार, स्वास्थ्य तथा सरसफाइका लागि साबुन, पानी, स्यानिटाइजर र तापक्रम नाप्ने व्यवस्था गर्नुपर्नेछ । त्यस्तै, मास्कको प्रयोग, विद्यार्थीबीच भौतिक दूरी, खाजालगायत व्यवस्थापन पनि गर्नुपर्नेछ ।

संक्रमणको जोखिम बढ्दै गएपछि ५ चैत ०७६ मा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले देशभरका सबै प्रकारका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७७ बुधबार ००:००  १० : ०४ बजे