३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

डोटी जीप दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या चार पुग्यो



डोटी ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका ७ सेउणीखेत पिउसिया भिरमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । चार जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका ७ का वडा सचिव मञ्जु त्रिपाठी, उहाँकी सासु र तीन वर्षका छोराको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जीप गएराति एक बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा केआइसिंह गाउँपालिका ४ बस्ने वर्ष अन्दाजी ४० का हरिनारायण भट्टको पनि ज्यान गएको छ ।

दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका ६ का ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका १९ बस्ने वर्ष २८ को हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका ७ बस्ने अन्दाजी वर्ष ४० की खेमादेबी गिरी, त्यही ठाउँ बस्ने वर्ष अन्दाजी २६ को टिकाराम गिरी घाइते भएका प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलबाट घाइतेको उद्धारको काम भइरहेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ मंसिर २०७७ आइतबार ००:००  ९ : ४१ बजे