३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

कोइली स्मार्ट कृषिको बार्षिक कार्यक्रम सार्वजनिक, कृषि पाठशाला भवनको पनि उद्घाटन



बाबुराम रायमाझी, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा ९ भलवाडमा रहेको कोइली स्मार्ट कृषि गाउँ कार्यक्रमको बार्षिक कार्यक्रम सार्वजनिक गरिएको छ ।

कार्यान्वन समिति जिनुवा बर्दहवाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रम सार्वजनकीकरण तथा कृषि पाठशाला भवनको बुधबार उद्घाटन गराएको हो ।

लुम्विनी प्रदेशका सांसद विष्णु पन्थीले एक भव्य समारोहका बीच वाणगंगा ९ वर्दहवामा उक्त दुवै कामको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सांसद पन्थीले स्मार्ट कृषि गाउँ कार्यक्रमबाट जनताको जीवनस्तर उठ्नुपर्ने बताउँदै त्यसको लागि किसानको उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो । किसानले आधुनिक प्रणालीबाट व्यवसायिक रुपमा खेति गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘पहिलेको समयभन्दा बढी उत्पादन गरी उत्पादन भएको चिजलाई बजारमा बिक्री गरी कृषकको आय आर्जनमा बृद्धि गराई जीवनस्तरमा बृद्धि भए मात्र स्मार्ट कृषि कार्यक्रमको लक्ष्य पुरा हुन्छ ।’

कपिलवस्तु कृषि ज्ञान केन्द्रका प्रमुख भीमनाथ शर्माले स्मार्ट कृषि गाउँ कार्यक्रमको विषयबस्तु माथि प्रकाश पार्नुभएको थियो ।

खेती गर्दा आधुनिक किसिमबाट गर्नुपर्ने भन्दै केन्द्रका प्रमुख शर्माले स्मार्ट कृषि गाउँ कार्यक्रम ४ वर्षे भएको र यसको मुख्य बाली मकै रहेको बताउनुभयो ।

कार्यक्रममा साना किसान कृषि सहकारी भलवाडका अध्यक्ष कुमार मधु वेल्वासे, वाणगंगा कृषि बिकास शाखाका प्रमुख लेस बहादुर केसी, वडाध्यक्ष धुर्व वेल्वासे लगायतले कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रम कोइली स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वन समिति जिनुवा बर्दहवाका अध्यक्ष चुरामणी आचार्यको अध्यक्षता सदस्य राधा वेल्वासेको स्वागत, राधा अधिकारीको सहजीकरणमा सम्पन्न भएको थियो ।

कोइली स्मार्ट कृषि कार्यक्रम ६० विगाह क्षेत्रफलमा रहेको र यसबाट १ सय १० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । यस कार्यक्रमलाई कृषि ज्ञान केन्द्र कपिलवस्तु र बाणगंगा नगरपालिका कृृषि विकास शाखाले प्राविधिक सहयोग गरेको छ ।

कार्यक्रम जनसहभागितामा आधारित प्रदेश सरकारबाट पहिलो वर्ष ५० लाख, दोस्रो वर्ष ३७ लाख ५० हजार, तेस्रो वर्ष ३० लाख हुँदै क्रमश बजेट घटाउँदै जाने छ । यस्तै ५ बर्षमा उक्त कार्यक्रम स्थानीय तहलाई हस्तान्तरण गरिनेछ ।

प्रकाशित मिति : २५ मंसिर २०७७ बिहिबार ००:००  ६ : २० बजे