१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कपिलवस्तुको एक पानी र चाउचाउ उद्योगविरुद्ध अदालतमा मुद्दा दायर



कपिलवस्तु ।
कपिलवस्तुको एउटा पानी र अर्को चाउचाउ उद्योगविरुद्ध कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

प्रशोधित पिउने पानीमा कोलिफर्मको मात्रा भेट्टिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, रुपन्देहीले कपिलवस्तुको शिवराज नगरपालिका–५ मा रहेको युनिभर्सल ड्रिकिङ वाटर इण्डष्ट्रिजविरुद्ध आइतबार अदालतमा मुद्दा दायर गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विमलकुमार दाहालले जानकारी दिए। उक्त उद्योगले ग्यालेक्सी ब्राण्डको मिनरल वाटर उत्पादन गर्दै आएको थियो।

खाद्यले उद्योग र उद्योगका सञ्चालक विष्णुबहादुर हमाललाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको दाहालले जनाए । यस्तै, कपिलवस्तु–१३ मा रहेको क्यापिटल फूड प्रालिविरुद्ध पनि मुद्दा दर्ता भएको छ । प्रशोधित पानीमा कूल कोलिफर्म गणना प्रति एक सय एमएलमा शून्य हुनु पर्नेमा ११८ पाइएको थियो ।

‘खाद्य ऐनअनुसार प्रति सय एमएलमा कोलिमर्फको मात्रा शून्य हुनुपर्छ । तर, उक्त प्रशोधित पानीमा धेरै पाइयो र कारबाहीका लागि अदालतमा मुद्दा दर्ता गरेका हौं’, दाहालले भने ।

उक्त उद्योगबाट प्रशोधित पानीमा मिसावट भएको गुनासो आएपछि खाद्य निरीक्ष श्रवणकुमार ढुंगाना नेतृत्वको टोलीले २०७६ भदौमा उद्योगबाट उत्पादित पानीको नमूना लिएर जाँच गरेको थियो ।

खाद्यले क्यापिटल फूडद्वारा उत्पादित ओके ब्राण्डको चाउचाउको काभ्रेबाट नमूना संकलन गरी जाँच गर्दा पानीको मात्रा ६.५ पाइएको थियो । चाउचाउमा ५ प्रतिशत भन्दा माथि पानीको मात्रा हुन हुँदैन । उक्त ब्राण्डको चाउचाउमा पेरोक्साइड भ्यालु १० हुनु पर्नेमा १५.२ समेत भएकाले कारबाहीका लागि मुद्दा दायर गरिएको दाहालले जनाए ।

प्रकाशित मिति : २० पुस २०७७ सोमबार ००:००  ६ : ०७ बजे