पाल्पा ।
विद्यालयमा अध्ययनरत सबै विद्यार्थी सामुदायिक विद्यालयमा गएपछि पाल्पाको एक निजी विद्यालय बन्द भएको छ ।
तानसेन नगरपालिका–१३ बौघागुम्हास्थित न्यू आइडल बोर्डिङ स्कुलमा अध्ययनरत करिब ६० जना विद्यार्थी नजिकैको सर्वोदय माध्यमिक विद्यालयमा भर्ना भएपछि त्यो निजी विद्यालय बन्द भएको हो ।
चालु शैक्षिक सत्रदेखि बोर्डिङ स्कुल बन्द भएको प्रिन्सिपल दिनेश रानाले बताए । २०५३ सालमा स्थापना भएको यस बोर्डिङमा नर्सरीदेखि ५ कक्षासम्म पढाइ हुँदै आएको थियो ।
यहाँ ८ शिक्षकले पढाउँदै आएका थिए। विद्यार्थी भर्ना हुन नआएपछि विद्यालय बन्द गर्नु परेको रानाले बताए। जागिर गुमाएका शिक्षकहरू अन्य काम गर्न थालेका उनले बताए।
एक जना शिक्षकले भने सर्वोदय माविमा नै अध्यापन गराउन गएका छन्। यस विद्यालय भवनमा अहिले कुखुरापालन व्यवसाय र होटल सञ्चालन हुँदै आएको छ ।
सर्वोदयबाट करिब २०० मिटरको दूरीमा न्यू आइडल बोर्डिङ स्कुल थियो। यस बोर्डिङ स्कुलमा गुणस्तरीय पढाइ नभएपछि सबै विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना भएका स्थानीय अभिभावक प्रेमनाथ घिमिरेले बताए ।







प्रतिक्रिया