१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

देश विकासको गति अघि बढ्यो, कसैले रोक्न सक्दैनः प्रधानमन्त्री ओली



दाङ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको लहर चलिरहेकाले देशलाई अगाडि बढ्न कसैले नरोक्ने बताएका छन् । सोमबार राप्ती नदीमा रहेको नेपाल कै दोस्रो लामो दाङको पुलको उद्घाटन कार्यक्रममा उनले देशमा सुशासन र विकासलाई प्रत्याभूत गर्दै अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

उनले अहिले देशमा विकासको लहर चलिरहेको उल्लेख गर्दै कोभिड १९ ले पनि विकास निर्माणमा रोक्न नसकेको दाबी गरे। प्रधानमन्त्री ओलीले केही प्रतिकूलता भए पनि त्यसलाई चिरेर अगाडि बढेको बताए। जसको उदाहरण यही पुल समय मै निर्माण हुनु पनि एक भएको दृष्टान्त पेश गरे ।
प्रधानमन्त्री ओलीले दाङमा लुम्बिनी प्रदेशको राजधानी बन्न लागेको र जसका लागि उक्त पुल महत्त्वपूर्ण रहेको बताए। उनले यही ठाउँमा नमुना कलात्मक सिग्नेचर पुल निर्माण हुन लागेको बताउँदै त्यस पुल विकासको नमुना हुने समेत बताए ।

राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने राप्ती नदीमा २०७३ मंसिर २२ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुल शिलान्यास गरेका थिए। राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने पुलको लम्बाई ८६० मिटर छ । चौडाइ साढे १० मिटर छ । उक्त पुल करिब एक अर्ब रुपैयाँ लागतमा निर्माण भएको हो। पुल चार वर्षभित्र निर्माण गरि सक्ने सम्झौता भए पनि चार महिनाअगाडि नै निर्माण पूरा भएको थियो। पुल ६ महिनाअघि निर्माण सम्पन्न भएको हो ।

राप्ती नदीमा पुल नहुदाँ यहाँका नागरिकहरुले वर्षायाममा सास्ती भोग्दै आएका थिए। ज्यानलाई जोखिममा राखेर डुंगाबाट नदी वारपार गर्ने गर्दथे। त्यस्तै कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टा सवारी यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो । यो पुल निर्माण भएसंगै पूर्व–पश्चिम राजमार्गबाट गढवा जान १५ मिनेट पनि समय लाग्दैन । लामो पुल निर्माण भएपछि स्थानीयको दुःख र सास्ती घटेको छ । राप्ती गाउँपालिकाबाट सिधैँ गढवा गाउँपालिका जान सकिन्छ ।

प्रकाशित मिति : १२ माघ २०७७ सोमबार ००:००  ५ : ४६ बजे