१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

वामदेवले भने- जुन समूहले अध्यक्ष दिन्छन्, त्यही समूहमा जान्छु



काठमाण्डौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम हिजोआज पार्टी एकताका पक्षमा उभिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित छ। निर्वाचन आयोगले ओली र प्रचण्ड(नेपाल दुबै पक्षलाई आधिकारिता दिएको छैन।

गौतम भने ओली वा प्रचण्ड(नेपाल कुनै पनि समूहमा आफू नलागेको र पार्टी एकताका पक्षमा उभिएको बताउने गरेका छन्। गौतमले निर्वाचन आयोगले निर्णयले पनि पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताएका छन्।

गौतमले सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै आफू कुनै पनि समूहमा नलागेको बताएका थिए।

आफू जता गए पार्टी एकता हुन्छ त्यतै जाने उनको भनाइ छ।

‘म कुनै समूहमा जानका लागि अभियान चलाएको होइन। जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु,’ गौतमले भने।

आफूले पार्टीमा गुटबन्दी नगरेकाले आफ्नो पक्षमा कोही नभएको उनको भनाइ थियो। ‘मैले पार्टीमा गुटबन्दी नगरेकाले मसँग कोही पनि केन्द्रीय सदस्य छैनन्, मसँग अहिले हरि पराजुलीभन्दा कोही छैनन्,’ उनले भने।

गौतमले तत्कालीन नेकपा (एमाले) र नेकपा ९माओवादी केन्द्र० लाई पनि आफूले एक गराएको भन्दै पुनः अहिले फुट्न थालेको पार्टीलाई पनि एक बनाउने बताए।

‘त्यति बेला नै मैले एमाले र माओवादी केन्द्रलाई एक बनाइ नेकपा बनाएको थिए। अब पनि एकता अभियानबाट म दुवै समूहलाई एकतामा ल्याउँछु’ उनले भने।

गौतमले दुवै समूहलाई एकतामा ल्याउनका लागि माघ १४ गतेदेखि पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्ने बताएका छन्।

एकता अभियानका संयोजकमा गौतम, सहसयोजकमा हरि पराजुली र सचिवमा बाबुराम थापा रहने छन्।

अभियान घोषणाको दिन ५१ केन्द्रीय सदस्य र १७५ कार्यसम्पादन समिति घोषणा गरिने उनले जानकारी दिए।

प्रकाशित मिति : १३ माघ २०७७ मंगलबार ००:००  ९ : ४७ बजे