७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

डाक्टर पुनसंगको कुराकानीः कोरोना खोप लगाएपछि के हुन्छ ? ककसले लगाउने ?



मायादेवी अनलाइन, चार नम्बर ।
कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ । काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ ।पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले लगाएपछि अरुले पाउने छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकै केन्द्रमा खोप लगाउनुहुनेछ । यद्यपी खोपका बारेमा धेरै आशंका देखिएका छन् । भारतमा खोप लगाइसकेपछि बिभिन्न समस्या देखा परिसकेपछि नेपालमा पनि यसको त्रास देखिएको छ । चिकित्सकले भने कुनै भ्रममा नपरी खोप लगाउन आग्रह गरेका छन् । यसैबीच हाम्रा प्रधानसम्पादक चन्द्रकान्त न्यौपानले कोभीसिल्ड खोपको बारेमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल अनुसन्धान एकाई प्रमुख डाक्टर शेरबहादुर पुनसंग केही कुराकानी गर्नुभएको छ ।

१ः खोप लगाइसकेपछि कस्ता लक्षण देखिन्छन् ?
यो खोप लगाइसकेपछि ठुलो समस्या आउँदैन । डराउनु पर्ने स्थिति छैन । मेजर रुपमा आएका समस्या भनेका जिउ दुख्ने, थकित महसुस हुने, टाउको दुख्ने संकेत देखिन्छन् । प्रमुख रुपमा केही लक्षण देखियो भने यिनै देखिन सक्छन् । त्यसका साथमा चिलाउने, रिंगटा लाग्ने, हल्का ज्वरो आउने पनि हुन सक्छ । आत्तिनु पर्दैन ।

२ः कति दिन या समयसम्म यस्ता लक्षण देखिन्छन् ?
खोप लगाएको २ दिनसम्म यस्ता लक्षण रहन सक्छन् । र विस्तारै कम हुँदै जान्छन् । पछि विस्तारै सबै ठिक हुन्छ । आत्तिन पर्दैन । खोप लगाउने स्वास्थ्यकर्मीले यसको बारेमा लगाउनेलाई जानकारी दिनु पर्दछ ।

३ः यो खोप ककसले लगाउने त ?

भारतमा पनि यो खोप लगाउँदा वृद्धवृद्धालाई त्यति लगाइएको छैन । उहाँहरुलाई सहभागी नगराउने । अहिलेसम्म १८ बर्षदेखि ५५ बर्षसम्मका जोकोहीलाई यो खोप लगाइएको छ । नेपालमा पनि यही उमेर समुहमा यो खोप लगाइन्छ । म ठ्याक्कै सबैले बुझ्ने भाषामा भन्छु अन्स्टेवललाई नलगाउने । अर्थात् दीर्घरोग भएका, गर्भवती महिला, गम्भिर प्रकृतिका ज्वरोका विरामीहरुलाई यो खोप लगाउन हुँदैन । अध्ययनको आधारमा भन्दा यो खोपपछि ठुलो दुर्घटना र अफ्ट्यारो भएको स्थिति छैन ।

४ः यो खोप लगाइसकेपछि कुनकुन खाने कुरामा ध्यान दिने ?
खोप लगाइसकेपछि यो खाने नखाने केही पनि छैन । सामान्य खाने कुरा खान सकिन्छ । जसरी अघिपछि खाना खाने गरिन्छ त्यसरी नै खाना खान सक्नु हुन्छ । खानेकुरामा त अरु बेला पनि सतर्कता अपनाउनु पर्दछ । खोप लगाइसकेपछि त्यति ठुलो समस्या छैन । भारतमा खोप लगाइसकेपछि देखिएका समस्या र त्यहाँबाट प्रकाशित लेखलाई आधार मान्दा यी कुराहरु आएका हुन् । म भन्छु ढुक्कसंग खोप लगाउनु । अहिलेसम्म तयस्तो दुर्घटना भएको छैन ।

५ः खोपका विषयमा आएका भ्रम के हुन् ?
खोपका बारेमा अनावश्यक भ्रम पाल्न आवश्यक छैन । मैले भनेँ खोप लगाइसकेपछि केही लक्षण देखिन्छन् । त्यसपछि केही हुँदैन । खोपले नकारात्मक असर गरेको छैन ।

भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्नेछ । पहिलो चरणमा चार लाख ३० हजारलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७ बुधबार ००:००  ८ : १२ बजे