१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

राजेन्दरको हत्यामा आफ्नै काका र भाइको संलग्नता, ६ जना पक्राउ



भैरहवा ।
रुपन्देहीका एक युवाको सम्पत्तिको लोभमा आफ्नै काका र भाइ (काकाको छोरा) ले हत्या गरेको पुष्टि भएको थियो । माघ ६ गते आगोले जलाइएको अवस्थामा रुपन्देहीको मायादेवी गाउँपालिका–७, गरकट्टीमा मृत अवस्थामा भेट्टिएका सियारी गाउँपालिका २ का ३४ वर्षीय राजेन्दर यादवको आफ्नै काका रामवेलाश यादव र उनका छोरा वीरेन्द्रको योजनामा हत्या गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न ८ जनामध्ये ६ जनालाई पक्राउ गरी रुपन्देही प्रहरीले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

काकाको योजनाअनुसार नै राजेन्दरलाई रक्सीमा निद्रा लाग्ने औषधि मिसाएर खुवाइ बेहोस बनाएर हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

गत माघ ५ गते राजेन्दर र वीरेन्द्र बिहानैदेखि रक्सी खान थालेका थिए। दिउँसो उनीहरु अटोमा र सन्तकुमार यादव र सोनु मुराउ लु १२ प ३९५२ नम्बरको मोटरसाइकलमा भारतको नौतनवा गएर पुनः रक्सी खाएको पाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले बताए।

त्यहाँ रक्सी खाइसकेपछि मुराउले ५० रुपैयाँ भारुमा पाइप, एक सय रुपैयाँमा निद्रा लाग्ने औषघि र लाइटर खरिद गरेको अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक पोखरेलले बताए।

त्यसपछि उनीहरु चारै जना एउटै मोटरसाइकलमा मर्चवारमा आएको र त्यहाँ रहेको जितेन्द्रको भट्टीमा रक्सी खाने क्रममा राजेन्दरलाई रक्सीको ग्लासमा निद्रा लाग्ने औषधी मिसाएर खुवाएको अनुसन्धानमा क्रममा उनीहरुले बयानमा उल्लेख गरेको पोखरेलले जानकारी दिए।

रक्सी खाँदाखाँदै बेहोस भएपछि उनीहरुले राजेन्दरलाई मायादेवी गाउँपालिका वडा नम्बर ७ गरगट्टीमा ल्याई भुँइमा लडाएर नौतनवामा किनेको पाइपले घाँटीमा बेरेर हत्या गरेका थिए।

‘राजेन्दरलाई रक्सीमा निद्रा लाग्ने औषधि राखेर खुवाएर राति मोटरसाइकलमा चढाएर लगेर पाइपले घाँटी च्यापी हत्या गरिएको अनुसन्धानबाट खुलेको छ’, एसपी पोखरेलले भने, ‘हत्यापछि उनका कपडा खोलेर छातीमा राखेर आगो लगाइएको पाइयो।’

प्रहरीले हत्यामा संलग्न काका रामवेलाश र भाइ वीरेन्द्रसँगै सुटर बुद्धिराम कोहार, सन्तकुमार यादव, राकेश यादव, अफताव मुसलमानलाई पक्राउ गरेको हो।

पक्राउ परेका सबैलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। हत्यामा संलग्नमध्ये सोनु मुराउ र लंगारे भनिने इन्द्रजित यादव भने फरार छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

राजेन्दर २ वर्षको हुँदा उनका बुबा रामसुभगको मृत्यु भएको थियो। बुबाको मृत्युपछि राजेन्दरकी आमाले उनको काका अर्थात आफ्नै देवर रामवेलाशसँग विवाह गरेकी थिइन्। आमाले काकासँग विवाह गरेपछि उनबाट तीन छोराको जन्म भएको थियो। त्यसपछि पारिवारिक माया नपाएका राजेन्दर १५र१६ वर्षकै उमेरमै भारत गएका थिए।

भारतमा १४ वर्ष बसेपछि एक वर्षअघि मात्रै घर आएका राजेन्दरले काकासँग अंश मागे। काकाले अंश नदिएपछि उनले रुपन्देही जिल्ला अदालतमा मुद्दा हाले र अदालतले मिलापत्र गराएको थियो। मिलापत्रपछि राजेन्दरको नाममा साढे १४ कठ्ठा जमिन परेको थियो।

‘त्यही जमिन हडप्नका लागि उनका काकाले योजना बनाएर राजेन्द्रको हत्या गरेको पाइयो’, एसपी पोखरेलले भने, ‘त्यसका लागि रामवेलाशले २ सुटर खोजेर हत्यापछि उनीहरुलाई २५ लाख रुपैयाँ वा एक कठ्ठा जग्गा दिने सर्तमा ल्याएको र उनीहरुकै सहयोगमा हत्या गरेको अनुसन्धानमा पुष्टि भयो।’

प्रहरीका अनुसार रामवेलासले राजेन्दरका हत्या गर्नेमध्येका मुख्य व्यक्ति बुद्धिराम कोहारलाई नगद २० हजार र ५० हजार गरी २ पटकमा ७० हजार रुपैयाँसमेत दिइसकेका थिए। –नेपालखबरबाट

प्रकाशित मिति : १४ माघ २०७७ बुधबार ००:००  ७ : ०७ बजे