१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बाणगंगा नदीका टेण्डरकर्ता मध्यरातमा कुटिए



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नदीका टेण्डरकर्ता बुधबार मध्यरात कुटिएका छन् । बाणगंगा नगरपालिकाको बाणगंगा पुलदेखिको उत्तरतर्फ मधुवन धाम क्षेत्रमा टेण्डर पाएको शिवम विल्डर्सका सुवास पाण्डेसहित ४ जना कुटिएका हुन् ।

टेण्डर पाउने पक्का भएर सम्झौता हुन बाँकी रहेको अवस्थामा खोलाको अवलोकनको लागि भन्दै शिवम विल्डर्सबाट प्रतिनिधि राति नदीमा पुगेको र उक्त बेला २५/३० जनाको समूहमा बसेका स्थानीय युवाले वाणगंगा १ उप्टहवामा एक्कासी कुटेको जनाइएको छ ।

वाणगंगा नगरपालिकाले मधुवनधाम क्षेत्रलाई २ करोड १४ लाखमा टेण्डर आह्वान गरेकोमा पहिलो पक्ष दिपिका सप्लायर्सले टेण्डर नलिएपछि दोस्रो पक्षको शिवम विल्डर्सले टेण्डर पाउने पक्का छ ।
पहिलो पक्ष टेण्डरबाट हटेपछि रातातार नदी दोहन भएको खबर पुगेपछि शिवमका प्रतिनिधि नदी हेर्न नदी किनारामा पुगेको बेला उनीहरुमाथि निमर्म कुटपिट भएको हो । शिवमका सुवास पाण्डेका अनुसार पवन बराल, पवन शाही, भरत केसी लगायतमाथि मुखमा कालोपट्टी बाधेर बसेका समूहले कुटेका हुन् ।

उनीहरुको रात नै पिपरा अस्पतालमा उपचार गरिएको थियो । इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले राति साढे १० बजेको समयमा आफुहरुमाथि कुटपिट भएको सूचना आएपछि नदीमा पुगेको बताउनुभयो ।

नदीमा पुग्दा कुटपिट गर्ने समूह फरार रहेको र कुटपिट भएकालाई आफुहरुले उपचारका लागि अस्पताल ल्याएको बताउनुभयो । पाण्डेले भने राति ९ः ५० बजे नै प्रहरीलाई घटनाबारे जानकारी दिएको बताएका छन् । पाण्डेले कुटपिट गर्ने समुहमा जनप्रतिनिधिकै संलग्नता रहेको दाबी गरेका छन् । कुटपिटमा संलग्नको किटानी जाहेरी पनि हालेको पीडित पक्षले बताएका छन् ।

यसैबीच दोश्रो पक्षको टेण्डरकर्ताले नगरपालिकाले तुरन्त सम्झौता नगरे काम गर्न नसकिने बताएका छन् । ५ करोड बढीमा टेण्डरमा पुगेको दिपीका सप्लायर्स (पहिलो पक्ष) पनि नदी चोरी नरोकिएपछि पछि हटेकोे अवस्थामा रहेको भन्दै आफूहरु पनि अब त्यही अवस्थामा रहेको उनीहरुले बताएका छन् । घटनापछि टेण्डरकर्ता विहिबार नगरपालिकामा गएका छन् । उनीहरुले नगरले तुरुन्त सम्झौता नगरे धरौटी पनि फिर्ता गर्ने चेतावनी समेत दिएका छन् । वाणगंगा नदीमा सधैजसो विवाद हुँदै आएको छ ।

प्रकाशित मिति : १५ माघ २०७७ बिहिबार ००:००  १० : ३८ बजे