२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कोरोनाका कारण विदेशमा थप ३ जना नेपालीको ज्यान गयो



काठमाण्डौ ।
कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप ३ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो हप्ता बेलायतमा ३ जनाको सङ्क्रमणका कारण ज्यान गएको हो । योसहित विदेशमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ ।
गैरआवासीय नेपाली संघ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५५ हजार ७ सय ९३ जना कोरोना मुक्त भएका छन् । यो कुल सङ्क्रमितको ९४ प्रतिशत हो ।

समितिका अनुसार यो हप्ता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाले कोरोना भाइरस विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाव दिनुभएको छ । अहिलेसम्म कुनैपनि खोपको प्रभावकारिता शत प्रतिशत नदेखिएकाले खोप लगाइसकेपछि पनि सङ्क्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा ग्यारेन्टी नहुने उहाँको भनाइ छ ।

प्रकाशित मिति : १८ माघ २०७७ आइतबार ००:००  ४ : ३८ बजे