१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

फाल्गुण ७ गते वाणगंगाको हिउँदे नगर सभा, भूमिहिनको लगत संयोजकमा जिसी



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु वाणगंगा नगरपालिकाको ८ औं हिउँदे नगर सभा फाल्गुण ७ गते हुने भएको छ । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले हिउँदे सभाको मिति तोकेको हो ।

बैठकले वाणगंगा खोलाको दिपिका सप्लायर्स, कोइली खोलाको सत्यसाई र धिरी खोलाको एनबी कन्ट्रक्सनलाई एक हप्ताको म्याद दिई ठेक्का सम्झौताको लागि आह्वान गर्ने निर्णय गरेको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै चालु आवमा छुट्याइएको लागत सहभागीताको दुई करोड बजेटलाई विनियोजन गरी ५०/५० र ७०/३० प्रतिशतको लागत सहभागीताका लागि रकम निकासा गर्ने निर्णय भएको छ ।

भूमिहिन सुकुम्बासी समस्या समाधान आयोगले हालै निकालेको ३५ दिने सूचनालाई मध्यनजर गरी वाणगंगाले भूमिहिन, दलित र अव्यवस्थित बसोबासीको लगत संकलनका लागि नगरका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत खिम बहादुर जिसीलाई संयोजक तोकि काम अगाडी बढाउने निर्णय गरेको छ ।

बैठकले जेष्ठ नागरिक सेवा, मिलन केन्द्र सञ्चालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७७ र वाणगंगा नपाको राहत तथा विपत व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ गरी दुई कार्यविधि सर्वसम्मत रुपले पारित गरेको छ ।

कपिलवस्तु सर्पदशं उपचार केन्द्र गारुसिंगेलाई रु २ लाख दिने निर्णय गरेको बैठकले बौद्ध दर्शन सम्बन्धि कक्षा ८ को पाठ्यक्रम निर्माणको लागि डम्मर शर्माको संयोजकत्वमा ५ सदस्यिय समिति गठन गरिएको छ । जसको सदस्यहरुमा पोम नारायण पौडेल, गोविन्द खनाल, चर्तुभूज पाण्डे र सदस्य सचिवमा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम भट्टराई रहनुभएको छ ।

प्रकाशित मिति : १८ माघ २०७७ आइतबार ००:००  ७ : ४५ बजे