७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दोभान आगलागी [अपडेट] ५० घर जलेर नष्ट, आगो अझै नियन्त्रणमा आएन



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका अन्तर्गत दोभान बजारमा लागेको भीषण आगलागीबाट ५० घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट ती घरमा रहेका करिब १ सय २० वटा पसलहरु जलेका स्थानीयले बताएका छन् । बस्तीमा लागेको आगो केही नियन्त्रणमा आए पनि बजारभन्दा माथिको भीरमासमेत आगो लाग्नथालेपछि खतरा झनै बढेको प्रहरीले जनाएको छ । अहिले बजारको बीच भागमा रहेका घरहरु भत्काएर केही हदसम्म आगो नियन्त्रणमा ल्याइएको छ । स्थानीय भोला पौडेलको घरबाट विद्युत सर्ट भएर आगो लाग्न सुरु भएको स्थानीय हरि काफ्लेले बताउनुभयो । आज बिहानदेखि लाग्न थालेको आगो करिब १२ बजेदेखि केही हदसम्म नियन्त्रणमा लिइएको छ ।

स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको उपस्थितिमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो भित्रभित्रै बलि रहेकाले अझै सल्कने सम्भावना रहेको प्रहरीले जानकारी दिएको छ।
दोभानमा करिब एक सय बढी घरहरु रहेका छन् । आगलागीबाट भएको नोक्सानीको वास्तविक तथ्याङ्क आउन धरै समय लाग्ने जिल्ला प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले बताउनुभयो।

प्रकाशित मिति : १८ फाल्गुन २०७७ मंगलबार ००:००  १ : ५९ बजे