१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आजबाट बाणगंगामा तेश्रो मेयर कप फुटवल, उद्घाटनमा २ खेल हुँदै



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा आइतबार (आज)बाट बाणगंगामा मेयर कप फुटवल हुँदै छ । नगरपालिकाको आयोजना र बाणगंगा स्पोर्टस् एण्ड वेलफेयर सोसाइटीको संचालनमा मेयर कप हुन लागेको हो ।

शनिबार पत्रकार सम्मेलन गरी टाइसिट पनि सार्वजनिक गरिएको छ । प्रतियोगितामा ११ वटा वडाले भाग लिने छन् । प्रतियोगिताका विजेताले नगद ९० हजार, शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टोलीले ६० हजार शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । यस्तै तेश्रो र सान्त्वना स्थान हासिल गर्ने टोलीले १५ हजार र ट्रफी पाउने नगर प्रमुख मंगल प्रसाद थारुले जानकारी दिनुभयो ।

यसअघि भएको प्रतियोगितामा भन्दा यसपटक पुरस्कार राशी बढाइएको छ । स्थानीय स्तरमा विद्यालयस्तरबाट नयाँ खेलाडी पहिचान गरी राष्ट्रिय स्तरमा पुर्याउन मेयर कपलाई निरन्तरता दिइएको मेयर थारुले बताउनु भयो ।

नगरका शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत खिम बहादुर जिसीले प्रतियोगिता सभ्य र भव्य हुने बताउनु भयो । पत्रकार सम्मेलनमा ११ वडाबाट वडाध्यक्ष तथा प्रतिनिधिको सहभागिता थियो ।

प्रतियोगिता निकै अनुशाषित र ब्यवस्थित बनाइने वेलफेयरका अध्यक्ष राजकुमार खाँण र महासचिव दिनेश क्षेत्रीले बताउनु भयो । उहाँले मेयर कपको सबै तयारी पुरा भएको समेत जानकारी दिनुभयो ।

प्रतियोगिताको आइतबार विहान १० बजे बुद्ध रंगशाला जितपुरमा भव्य समारोहका बीच उद्घाटन हुने छ । उद्घाटन खेलमा वडा नम्बर ७ र १० भीँड्ने छन् । त्यस्तै आइतबार नै दिउँसो ३ बजे हुने दोश्रो खेलमा वडा नम्बर १ र ८ भीँड्ने वेलफेयर सोसाइटीले बताएको छ । प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७ आइतबार ००:००  ७ : १५ बजे