७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

ब्राइटनलाई हराउदै लेस्टर दोस्रो स्थानमा उक्लियो



एजेन्सी ।
इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले एक गोलले पछि परेको अवस्थामा ब्राइटनमाथि उसकै मैदानमा २–१ को जित निकालेको छ ।

ब्राइटनको घरेलु मैदान दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा शनिबार राति भएको खेलमा लेस्टको जितमा केलिची इहानाचो र ड्यानियल अमार्टेले गोल गरे । घरेलु टोली ब्राइटनका इडाम लालनाको गोल सान्त्वना बन्यो ।

खेलको १०औं मिनेटमा लालनाको गोलबाट ब्राइटनले अग्रता लिएको थियो । तर त्यो अग्रतालाई ब्राइटनले बचाउन सकेन । ६२औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

खेल सकिन ३ मिनेट बाँकी रहँदा ड्यानियल अमार्टेले मार्क अल्ब्राइटनको पासमा गोल गर्दै लेस्टरलाई २–१ को पूनरागमन जित दिलाए ।

यो जितसँगै लेस्टर २८ खेलबाट ५३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । लेस्टरले एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडलाई २ अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । युनाइटेडको ५१ अंक छ । शीर्षस्थानको म्यानचेस्टर सिटीको २७ खेलबाट ६५ अंक छ । पराजित ब्राइटन २६ अंक जोडेर १६औं स्थानमा छ ।

प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले अग्रता जोगाउन नसक्दा घरेलु टोली बर्नलेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । आर्सनलका पिएरे इमरिक औवामियाङले गोल गर्दा बर्नलेका क्रिस वुडले बराबरी गोल फर्काएका थिए ।

यो बराबरीसँगै आर्सनल २७ खेलबाट ३८ अंक जोडेर १०औं स्थानमा रहेको छ । बर्नले ३० अंक जोडेर १५औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७ आइतबार ००:००  ८ : ०१ बजे