१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रधानमन्त्री कप भलिबलको उपाधिको लागि आज एपीएफ र पुलिस भीँड्दै



काठमाण्डौँ ।

सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब नेपालगञ्जमा जारी सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । लिग चरणमा ३–३ जित निकालेका यी टिम अब उपाधिका लागि मंगलबार भिड्ने छन् ।

नेपालगन्ज रंगशालाको कभर्ड हलमा सोमवार एपीएफले होंगान्जी न्यु डायमन्ड क्लबलाई ३–१ सेटले पराजित गर्दै फाइनलमा पुगेको हो । पहिलो सेट न्यू डायमण्डले २५–२३ ले जितेको थियो । त्यसपछि लगातार एपीएफले जीत निकाल्यो । एपीएफले न्यू डायमण्डमाथि २५–१३, २५–१७ र २५–२२ को जित निकालेको थियो ।

पहिलो सेटमा राम्रो खेले पनि त्यसपछि न्यू डायमण्ड दबाबमा परेको थियो । खेलमा प्लेयर अफ द म्याच एपीएफकी बिनिता बुढाथोकी भइन् । उनलाई सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला सचिव चुडामणी पौडेल, कैलपाल कलेजकी निर्देशक रेबती सिंह र एबीसी स्कूलकी प्रिन्सिपल शशी स्वाँरले पुरस्कार प्रदान गरे ।

दोस्रो खेलमा पुलिसले त्रिभुवन आर्मीलाई ३–१ सेटले पराजित गरेर लगातार तेस्रो जीत हात पर्दै फाईनलमा पुगेको हो । पहिलो सेट गुमाएर पनि पुलिसले कमब्याक गरेको थियो ।

पहिलो सेट आर्मीले २५–१५ ले जितेको थियो । दोस्रो सेट पुलिसले २५–१८ ले जित्यो । तेस्रो सेटमा अन्तिममा ५ अंकको अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा आर्मी पराजित हुन पुग्यो । आर्मीको २४ अंक हुँदा पुलिसको १९ अंक थियो । १९ अंकबाट बढेर पुलिसले तेस्रो सेट जित्यो । यो सेटमा पुलिस २७–२५ ले विजयी भयो । चौथो सेटमा पुलिस २५–२३ ले विजयी भयो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७ मंगलबार ००:००  ७ : २९ बजे