१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कपिलवस्तुका २ सहित लुम्बिनीमा एमालेका तीन सांसदले दिए पदबाट राजीनामा



काठमाडौं ।

लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्। उनीहरूले असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन्। कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दीर्घनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएका हुन्।

आफूहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको सांसद पाण्डेयले बताए। यसअघि मुख्यमन्त्री पोखरेलले प्रदेश सभामा सदस्य संख्या घटेर ८१ पुगेपछि एमाले एक्लैसँग ४१ सांसद रहेको भन्दै एक दलको बहुमतको सरकार बनाउने भन्दै राजीनामा दिएका थिए। उनको राजीनामापछि सांसद विमला वली खत्रीले माओवादी केन्द्र रोजेकी थिइन्। त्यसपछि पोखरेलले भनेजस्तो उनको पक्षमा बहुमत पुगेको थिएन। यसका बाबजुद् प्रदेश प्रमुख धर्मनाथप्रसाद साहले संविधानको धारा १६८ (१) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका थिए। थप तीन जना सांसदले पदबाट राजीनामा दिएपछि पोखरेलको नयाँ नियुक्ति विवादमा फसेको छ।

प्रकाशित मिति : १९ बैशाख २०७८ आइतबार ००:००  ४ : ०८ बजे