१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

बाणगंगाकी ८८ बर्षीया वृद्धाले घरमै कारोना जितिन् र भनिन् ‘अब त टाठिएँ’



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाकी ८८ बर्षीया एक वृद्धाले कारोनालाई जित्नु भएको छ । वडा नम्बर ८ बनगाई निवासी हरिकला पोख्रलले संक्रमण भएको १० दिनमै कोरोनालाई जित्नु भएको हो । जेठ १ गते पोख्रेलमा कोरोना पुष्टि भएको थियो । बुधबार १२ गतेसम्म आइपुग्दा उहाँ सामान्य अवस्थातिर फर्किएको नाति हरि पोख्रेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । उहाँको दोश्रो रिपोर्ट पनि नेगेटिभ आएको छ ।

ज्वरो आउने, वान्ता हुने, खोकी लाग्ने, श्वाश-प्रश्वासमा समस्या हुनेजस्ता कोरोनामा देखिने सबै लक्षणहरु उहाँमा देखिए पछि एक समय परिवार ठुलो चिन्तामा थियो । वान्ता नरोकिएर विरामी थप कमजोर बनेपछि उपचारको लागि अस्पताल धाउँदा पनि उहाँहरुले वेड पाउनु भएन ।

त्यसपछि चिकित्सकको सल्लाह बमोजिम घरमै राखेर संक्रमित वृद्धाको हेरचाह गरिएको थियो । विस्तारै कठिन स्थिति मत्थर हुँदै गए पछि उहाँ अहिले मज्जाले बोल्न सक्ने, कुरा गर्न सक्ने हुनुभएको छ भने खाना पनि खान थाल्नु भएको छ । पुरै निको नभए पनि संक्रमित पोख्रेलले अब भने फेरि बाँचेको भन्दै खुसी ब्यक्त गर्नु भएको छ ।

अब त टाठिएँ भन्दै ती वृद्धाले खुसीको आँशु झार्नु भएको नाति हरि पोख्रेलले मायादेवीसंग बताउनु भयो । उहाँले भन्नुभयो ‘अब त हजुर आमा निको हुनुभएको छ । हजुर आमाले पुर्नजीवन नै पाउनुभयो । अहिले सबै परिवार खुसी भएका छौँ ।’

घरमा राम्रोसंग रेखदेख गरिएकोले नै उहाँले कोरोना जित्नु भएको पारिवारिक भनाई छ । ‘उतिबेला बेड नपाउँदा अस्पताललाई गाली गर्यौँ । तर अहिले बेड नपाएकोमा ठिकै लागेको छ । अस्पताल लगेको भए रेखदेख हुन्थ्यो हुन्थेन ? कति विरामी अस्पतालले उचित रेखदेख नगर्दा वित्नु भएको छ ।तर आमालाई घरमै राखेर निगरानी गर्यौँ ।

हर समय डाक्टरको परामर्श लियौँ । त्यसैकारण हजुरआमा बाँच्न सफल हुनुभयो, आँसु झार्दै उहाँले सुनाउनु भयो । घरमा कान्छो छोरा कुल प्रसाद पोख्रेल र नाति डिल्ली नारायण पोख्रेलले उहाँको हेरचाह गर्नुभएको थियो ।

यसअघि पनि बाणगंगाकै ९८ बर्षीय पुरुषले कोरोना जितेका थिए । पछिल्लो समय जिल्लामा कोरोना जित्नेहरुको संख्या बढिरहेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८ बुधबार ००:००  ६ : १९ बजे