७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

भेरी अस्पतालमा सङ्क्रमितको ज्यान गएपछि डाक्टर र नर्समाथि कुटपिट



काठमाडौं ।
बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा कोरोना सङ्क्रमितको ज्यान गएपछि मृतकका आफन्तले डाक्टर र नर्सलाई कुटपिट र दुर्व्यवहार गरेका छन् । हिजो बेलुकी मृतकका आफन्तले कुटपिट गरेपछि अस्पतालमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । जेठ ४ गते भर्ना भएका दाङका एक जना बिरामीको ज्यान गएपछि मृतकका परिवार र आफन्तले ड्युटीमा रहेका डाक्टर र नर्सलाई कुटपिट गरेका अस्पतालले जनाएको छ ।

अस्पतालमा कार्यरत एक नर्सका अनुसार कुटपिट हुन थालेपछि डाक्टर र नर्सले झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए । तनाव बढेपछि अस्पतालमा अहिले सुरक्षाकर्मी तैनाथ गरिएको छ । अस्पतालकाअनुसार भर्ना हुने बेलामै स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । अस्पतालका डाक्टर र नर्समाथि भएको दुर्व्यवहारको स्वास्थ्यकर्मीले भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

कोरोना महामारीमा ज्यानको बाजी लगाएर बिरामीको उपचार गर्दै आएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र कुटपिट हुनु लज्जास्पद भएको उनीहरुले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डाक्टर अनुप बास्तोलाले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार निन्दनीय रहेको र यस्ता घटनाले हाम्रो समाजको चेतनास्तर देखाएको बताउनुभएको छ ।

उहाँले कोभिडका बिरामीको चाप सरकारी अस्पताललाई थेग्न हम्मेहम्मे परेको भन्दै अस्पतालको साधन स्रोत र जनशक्तिले उपचार सेवामा फरक पर्ने बताउनु भएको छ । यस्तै, महामारीका बेला स्वास्थ्यकर्मीले समेत आफन्त गुमाएकाले यस्तो बेला धैर्य गर्न सिक्नु पर्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८ शुक्रबार ००:००  १० : २६ बजे