१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

भेरीमा स्वास्थ्यकर्मी कुट्ने मुख्यमन्त्रीका विश्वासपात्र रहेको खुलासा !



नेपालगन्ज ।

बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने मुख्य व्यक्ति सत्ताधारी दल नेकपा एमाले नेता भएको पुष्टि भएको छ। कोरोना सङ्क्रमित डिल्ली बहादुर रावतको उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत लगाएका व्यक्तिले उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आक्रमण गरेका थिए। रावत नेकपा एमाले दाङ जिल्ला कमिटी सचिवालय सदस्य हुन्।

उनी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलका विश्वास पात्र हुन्। प्रदेशमा उनले पोखरेललाई साथदिँदै आएका छन्। पछिल्लो पटक नेकपा ओली समूहको लुम्बिनी प्रदेश कमिटी बनाउँदा पोखरेलले उनलाई सदस्य बनाएका थिए। तर, एमाले लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीले रावत आफ्नो कमिटीमा नभएको दाबी गरेका छन्।

अध्यक्ष गिरीले रावत जुनसुकै पार्टीमा आबद्ध भए पनि कारबाहीको भागिदार हुनु पर्ने बताए। घटनाका दोषीलाई कडा कारबाहीको माग गरिएको उनले उल्लेख गरे। मुख्यमन्त्री पोखरेलले ट्विट गरेर बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुने लेखेका छन्। रावतसहितको आक्रमणबाट ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएका थिए।

जेठ ४ गते देखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको उपचारका क्रममा बिहीबार राती ८ बजेतिर मृत्यु भएको थियो। उनको मृत्यु पश्चात् उनका आफन्तहरूले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आइसियु कक्षमा समेत तोडफोड गरेका थिए।

घटना लगत्तै प्रहरीले मानबहादुर रावत, र मृतकका दुई छोरालाई पक्राउ गरी अनुसन्धान थालेको छ। घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्ट नेतृत्वमा ७ सदस्यीय समिति निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। उनले समितिले आजैदेखि काम थाल्ने उल्लेख गरे।

आन्दोलनमा चिकित्सक

रावत सत्ताधारी दलसँग आबद्ध रहेको पुष्टि भएपछि कारबाहीबाट उन्मुक्ति पाउन सक्ने आशङ्कामा स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। शुक्रवार बिहानै देखि अस्पताल परिसरमा प्रदर्शन गरिरहेका छन्।

लाठी चार्जसहित मृतकका आफन्त आक्रमण गर्न आएपछि डाक्टर र नर्सले एक तलामाथिको झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए। शुक्रवार प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीले ‘के स्वास्थ्यकर्मीले सधैँ कुटाई नै खाने होरु’, ‘नो सेक्युरिटी, नो वर्क’ जस्ता नारा लगाउँदै सङ्क्रमितको उपचारमा खटिएका महामारीमा खटिएका स्वास्थ्यकर्मीको मनोबल खसाउने खालका क्रियाकलाप बन्द गर्न माग गरेका छन्।

अस्पतालकी नर्सिङ अधिकृत ईश्वरी केसीले अन्धाधुन्ध रूपमा तोडफोड र हातपात हुन थालेपछि चिकित्सकसहित स्टाफ नर्स काम छोडेर भाग्नु परेको बताउँदै त्रासको अवस्थामा स्वास्थ्यकर्मीले काम गर्न नसक्ने बताइन्।

प्रकाशित मिति : १४ जेष्ठ २०७८ शुक्रबार ००:००  १ : ०२ बजे