७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मतदाता प्रभावित पार्ने गरी आज अध्यादेशबाटै १६ खर्ब रुपैयाँको बजेट आउँदै



काठमाण्डौ ।

चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८ र ७९ को लागि बजेट सार्वजनिक गर्दैछ। संसदका दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत १६ खर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट अर्थमन्त्री विष्णु पौडेलले दिउँसो चार बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम छ । प्रतिनिधि सभा नियमावलीमा बजेट प्रस्तुत गर्नुअघि संसदको दुवै सदनमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने उल्लेख भए पनि नियमावली सरकारले मिचेको छ । यस्तै संसदमा बजेट पूर्वको छलफल गर्नुपर्नेमा त्यो पनि गरेको छैन ।

अध्यादेशमार्फत बजेट नल्याउन पूर्व अर्थमन्त्री, पूर्व प्रधानन्यायाधीश, योजना आयोगका नौ जना पूर्व उपाध्यक्ष, पूर्व प्रमुख निर्वाचन आयुक्त लगायतले आग्रह गरिरहेका छन् । चुनाव घोषणा गरेको सरकारले मतदाता आकर्षित गर्ने र वितरणमुखी कार्यक्रम बजेटमा राख्न नपाउने विज्ञहरुले भन्दै आएका छन् ।

तर सरकारले सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि लगायतका कार्यक्रम समेट्ने आकलन गरिएको छ । यस्तै कोरोनाविरुद्धको खोप खरिद्, स्वास्थ्य संरचना सुधार, महामारीबाट समस्यामा परेको निजी क्षेत्रलाई राहत, ठूला आयोजनाको निरन्तरता लगायतका विषय बजेटमा समेट्ने तयारी छ ।स्रोतले नधान्ने भएपछि सरकारले झण्डै पाँच खर्ब रुपैयाँ हाराहारीमा ऋण लिने गरी बजेट ल्याउन लागेको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८ शनिबार ००:००  ७ : ३६ बजे